हाम्रो भनाई

नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको ६३ गाँउ विकास समिति मध्ये उत्तरी क्षेत्रमा अवस्थित
साङपाङ गाँउ विकास समितिमा जन्मी हुर्की अर्थात त्यहाँ मूल थलो भई हाल देश विदेशको कुना काप्चामा छरिएर बस्नु भएका तमाम साङपाङवासीहरुलाई भावनात्मक सामीप्यतामा अक्षुण्ण राख्दै, अप्ठ्यारा असजिलाहरुको बिचमा हातेमालो गराउदै, रचनात्मक तथा सामाजिक कार्यहरुमा एकताबद्ध बनाउदै आफ्नो मातृभूमी-जन्मभूमि साङपाङलाई एउटा समृद्ध नमुना गाँउको रुपमा विकास गरौ भन्ने मुख्य उद्देश्यका साथ काठमाण्डौ उपत्यका भित्र स्थायी वा अस्थायी रुपले बसोबास गर्दै आइरहेका सम्पूर्ण साङपाङवासीहरुको सामूहिक प्रयासमा यस "
साङपाङ गा.वि.स. सेवा समाज काठमाण्डौ" नामक संस्थाको मिति २०६५ माघ २५ गते शनिबारका दिन नेपाल ल क्याम्पस हाता प्रदर्शनी मार्गमा विधिवत स्थापना भएको हो ।
कुनै पनि संघ संस्था स्थापना हुनु मात्रै ठूलो कुरो होइन । स्थापना भए पछि संस्थाले लिएको उद्देश्य र लक्ष्य प्राप्ति तर्फ निरन्तर गतिमा अगाडी बढिरहन सक्नु ठूलो कुरो हो । यही बुझाई प्रतिको प्रतिबद्धता सर्वप्रथम त यस सेवा समाज यो अवसरको घडीमा व्यक्त गर्न चाहन्छ ।
यो एक्काइसौ शताब्दीको यूग विशेषत : सूचना संचार क्षेत्रमा भएको चरम क्रान्ति त्यसमा पनि अचम्मै लाग्दो ईन्टरनेट प्रविधिको आगमन जसले आमसंचार जगतमै ल्याएको व्यापक परिवर्तन आज हाम्रो लागी एक प्रकारले वरदान नै सावित भएको छ ।
आज हामी कम्प्यूटरको त कुरै छाडौ, एउटा सामान्य हातेफोन (मोवाइल) को वटनहरु यताउत चलाएकै भरमा विश्वको हरेक वस्तुस्थितीहरु, प्रत्यक्ष वा परोक्ष रुपमा श्रब्य दृष्य संगै त्यसबारे सम्पूर्ण जानकारीहरु हासिल गर्न सक्छौ । साथै चित्त बुझे नबुझे अर्थात आफुलाई ठिक लागेमा या नलागेमा सोही अनुसारको क्रिया प्रतिक्रिया तत्कालै ब्यक्त गर्न र प्राप्त गर्न सक्छौ । वस्तुतः परिवर्तित सूचना प्रविधिको सानो उदाहरण मात्रै हो यो ।
निश्चय नै परिवर्तित सूचना प्रविधिको सवालमा यस सेवा समाज पनि निरपेक्ष रहन सक्दैन । किनकी, आफ्ना हरेक गतिविधि एवं भावि कार्ययोजनाहरुको बारेमा आवश्यक सूचनाहरु सरोकारवाला, शुभेच्छुक एवं जनमाझसम्म पुर्याउनु पर्ने यसको दायित्व र जिम्मेवारी रहन्छ । ति दायित्व र जिम्मेवारी वहन गर्नका लागि भरपर्दो र पारदर्शी सूचना प्रवाह गर्ने माध्यमको जरुरत पर्दछ । त्यही सूचना प्रवाहको प्रयोजनार्थ साथै समग्र विचार, दर्शन, साहित्य आदि मन्थन गर्ने संगम थलोको रुपमा यस वेवसाइट www.sangpangsamaj.org.np को निर्माण गरिएको हो ।
नेपाली माटो, कला, संस्कृति, भाषा, धर्म लिपि, गीत, सङ्गीत, नाट्य लगायत वर्ग, लिङ्ग, क्षेत्र, समूदाय सबैको संरक्षण प्रबर्द्धन र उत्थानको निमित्त प्रस्तुत वेवसाइटलाई आगामी दिनहरुमा समय सापेक्ष परिस्कृत र थप परिमार्जन सहीत यसको भूमिकालाई अझ ससक्त बनाउदै लगिने हाम्रो प्रयास रहने छ । यही अठोट र संकल्प सहित तपाई
साङपाङवासी तथा यस संस्था प्रति न्यानो माया प्रकट गर्नुहुने समस्त शुभचिन्तक, पाठक-स्रोताहरुमा यहाँहरुको सहृदयी साथ सहयोग, अमूल्य सल्लाह सुझाव र रचनात्मक प्रतिक्रियाको लागि सधै आभारी रहने छौ ।
साङपाङ गा.वि.स. सेवा समाज काठमाण्डौ ।