यसरी बाँचेका केही जिन्दगीहरु
– शुभचन्द्र राई
चँखे ठाईलाले लेघ्रो तानेर गीत गाए ‘भातै पाक्ने पित्ले भाँडो मकै भुट्ने हाँडी, बल्ल बल्ल ल्याको स्वास्नी ओछ्यान मुत्ने राँडी.....!!!
छयाँ..के गीत गाएको त्यस्तो ? जेठाबाले हकारे चँखेलाई । चँखे ह..ह..ह..ह.. गरेर हाँस्यो । यो चँखे आपैm ओछ्यान मुत्छ होला स्वास्नीलाई दोष दिन्छ । साईली दिदीले पनि कुरा थपिन् । मुत्ने मात्र भए त भैहाल्थ्यो नि, अस्ति त मातेर सुरुवालमै हग्यो पनि अरे । च्यान्टीले चँखेको गुह्या खोल्यो ।
ए बढ्ता बोल्छस् ! बढ्ता बोल्छस् !! चँखेले मुठी पारेर च्यान्टीलाई ताक्दै ब्रुस्ली पोजिसन लियो र छिस्लिक्कै हिर्काइ पनि हाल्यो ।
ए साच्ची खोजिस् चँखे....? साईली दिदी, ए प्यान्ची आइज त यसलाई ठीक पारौ । च्यान्टीले दुई बहिनीलाई गुहारिन् ।
चँखे ए..ए..ए..ए.. गर्दै भाग्न खोज्दै थियो साईली, च्यान्टी र प्यान्चीले पक्रेर लडाई हाले । जेठाबाले ए नचल न हौ केटाकेटी हो भन्दा भन्दै चार फुटको चँखे ठाईलालाई पहाड जस्तै ढोक्सी साईली, प्यान्ची र च्यान्टीले भ्mयाईकुटी पारेर नजिकको हिले आहालमा फाली हाले र हाँस्दै भागे ।
थुइक्क...! बोक्सी हो, खत्तम पारिहाले नि । चँखे हिले आहालबाट हिलो टकटक्याउदै बल्ल बल्ल उठ्यो । उसको पिडौला, फिला र दाहिने पाखुरामा हिलै हिलो लागेका थियो । उसको नाक र गालामा पनि हिलो लागेछ । त्यो देखेर केटीहरु भुँडी मिची मिची हाँसे । जेठा बा पनि हाँसे । चँखे केटीहरुलाई सराप्दै गनगन गर्दै धारा तर्पm लाग्यो र हिलो पखालेर आई चौतारीको पल्लो कुनामा ठुस्केर टुक्रुक्कै बस्यो ।
ए चँखे दाजु रिसाको ? ला सुल्पा...(पातमा सुर्ती बेरेर बानाएको) च्यान्टी सुल्पा देखाउदै चँखेको नजिक गयो । मेरो छेउ नआईजा है....लैजा खान्न तेरा सुल्पा । चँखे बिच्किएको बिच्किएकै गर्यो । ए चँखे दाजु...जाँड खाने हो, बनाई दिउ.....? प्यान्चीले पनि चँखे ठाईलालाई फकाईन् । तै खा तेरो जाँड खान्ना.....। अझ चँखेको रिस मरेन ।
चँखे !.... ओछ्यान मुत्ने स्वास्नी ल्याए पछि यस्तै त हुन्छ बाबै....! साईली खितिति हाँसिन् । साईलीको कुराले जेठाबा, प्यान्ची र च्यान्टी सबै हाँसे । चँखे पनि फिस्स हाँस्यो । फेरी तिनीहरुको मिल्ती भो ।
त्यो समूहमा चँखे ठाईला, प्यान्ची, च्यान्टी र साइलीको ठट्टा, जिस्क्याई, ठुस्क्याई यत्तिकै हो । तिनीहरु एक छिन ठट्टा नगरि, नचली बस्न सक्दैनन् । एक छिन रिसाउछन् त्यस पछि फेरी मिली हाल्छन् । त्यो समूहको बुढापाका भनौ या अभिभावक भनौ जेठा बा नै एक्लो व्यक्ति थिए जो तिनीहरुको हँसाई, ठट्टा देखेर केवाल हाँस्न सघाउथे र समय समयमा तिनीहरुलाई गाली पनि गर्थे ।
फिरफिरे चौतारीमा निकै बेर सम्म बिसाए पछि फेरी त्यो पल्टन उकालो लागे । सबैको पिठ्यूमा आप्mनो क्षमता अनुसारको गह्रौ ढाकर छ । हातको तोक्मा टेकुवा लगाउदा ढुङ्गाहरुमा ठोकिएका टख्रङ टख्रङ आवाज एवं भारीको चुइक..! चुइक..!! आवाज त्यो सुनसान वातावरणमा प्रष्टै सुनिन्छ । ति सबै नै जन्मजात नै ढाक्रे भने पनि हुन्छ ।
जेठाबा त्यसरी नै हिउद वर्खा भोट मद्येश गरेर आप्mनो परिवार पाल्छ । करिब ६० पुग्नै लागेका जेठा बा त्यो पाको उमेरमा पनि भारी बोक्दै छन् । उ गरिब छ भारी नबोके उसको जहान परिवारको मुखमा माड पस्दैन । चँखे ठाईलाको उमेर त्यस्तै ४५ को हुनुपर्छ । उ पनि यो सन्सारमा बिल्कुलै एक्लो प्राणी हो । उसले बिहे गरेको वर्ष दिनमै उसकी स्वास्नी पोइला गईन । त्यसपछि चँखेको मन भाँचियो र कहिल्यै बिहे गरेन । उ घरमा त्यति बस्दैन । यसरी नै भोट मद्येश गर्दै जीवन बिताउछ । उसको अगाडि पछाडी रुने कराउने, माया गर्ने कोही छैन भने पनि हुन्छ । एक शोक एक भोक छ उसलाई ।
साईलीको कथा पनि कम बिझाउने छैन । उसको उमेर करिब ४० जतिको होला । उसको लोग्ने एक नावालक छोरा र छोरीलाई छोडेर इन्डिाया सिलाङ भासिएको पनि अब त ठ्याक्कै ७ वर्ष भयो । उ त्यसपछि कहिल्यै फर्केनन् । सुनिन्छ उतै खसिनी बिहा गरेर बसेको छ रे । साईलीले रगतको आँशु बगाएर चित्त बुझाएकी छन् । उ पनि यसरी नै भारी बोकेर बालक छोरा छोरीलाई पाल्छिन् । च्यान्टी र प्यान्ची समकालिन हुन् । उनीहरुको उमेर त्यस्तै २० जत्तिको हुनुपर्छ । उनीहरु पनि गरिबका छोरीहरु हुन् । घरमा आमाबुबाको प्रसस्त जायजेठा छैन त्यसैले आप्mनो रहरको लुगाफाटा, सरसमानहरु किन्न र यसो आनासुकी मरमसला किन्ने पैसा जगेडा गर्न उनीहरु पनि लगातार भोट मद्येश गर्छन् ।
त्यो समूह अन्य बलिया बाँगा तन्नेरीहरुको समूहसँग बराबर हिड्न सक्दैनन त्यसैले पनि उनीहरुको पल्टन ठीक्क जमेको छ । त्यो समूहको नाइके जेठाबासँगै उनीहरु रमाउछन् ।
चँखे ठाईला साह्रै रमाईलो मान्छे छ । उ हसाई रहन्छ । उनीहरु मनभरीका पीर व्यथाहरुलाई भुलेर हाँसेर मद्येश झर्छन् । हाँसेरै भोट चढ्छन् । साँझ परेपछि ओडारमा होस या रुखको फेदमा, गाँउजेमा होस या जङ्गलमा आगो फुक्छन् । ढीडो ओडाल्छन, तरक्कै गुन्द्रुक पकाउछन् । कड्याप्पै अकबरे खुर्सानी टोक्छन् र बनभोज खाएर स्याउलाको गद्धामाथि मीठो निन्द्र सुत्छन् ।
देशमा लोकतन्त्र आएको धेरै वर्ष भईसक्यो । कोशीमा धेरै पानी बगिसक्यो । धेरै मानिसहरु नेता मन्त्री भए । उनीहरुकै गाउँको प्रधान बा साँसद बने तर यसले उनीहरुको जीवनमा कुनै प्रभाव पारेन । झन् महँगी बढ्यो । गाउँमा छाडा तन्त्र भित्रियो । सरम धरम सबै नासियो । मासियो । कसैले कसैले नगन्ने नमान्ने भयो ।
देशमा के हुँदैछ ? कसले के गर्यो...? यो सब कुराहरुबाट तिनीहरु बेखबर छन् । निस्फिक्री छन् । उनीहरुलाई त एउटै कुराको सुर्ता छ साहुको भारी बोक्न पाईन्छ पाइँदैन ? धार्नीको ज्याला कति बढ्यो ? पानी परेर खोला नाला बढे कसरी तर्ने ? भारी कसरी जोगाउने बस.......।
(नोट: यो कथा आजभन्दा करिब १३ वर्ष अगाडि लेखिएको हो । कथा बर्तमान समय सान्दर्भिक नभए पनि अभैm यसका अवशेषहरु गाउँमा समाप्त भएको छैन । )
गाँउघरको कथा ।



प्रतिक्रिया
* कुनै प्रतिक्रिया फेला परेना ।