मनवीर हाम्रै गाउँ पारीको दाई हो । तर सबैले उनलाई बोलाउदा मनवीरे कान्छा भनेर बोलाउछन् । उनी सोझो र इमान्दार भएकाले जसले भनेको पनि मान्छन् । गाउँमा बालवच्चा देखि बुढाबुढी सम्मले मनवीरे कान्छा दाईलाई मन पराउँछन् । खै किन हो सुरुमा त उनी एक्लै थिए तर पछि चालिस पैतालिस वर्षको उमेरमा के जोस चढेछन् र पारी गाउँको तामाङ्नी थरकी एक जना आईमाईसँग बिवाह गरेका रहेछन् । मनवीरे दाई हरेक दिन सधै अर्काकोमा मजदुरी गरेर बिहान वेलुकाको रोजीरोटी गर्दारहेछन् । उनको आफ्नो सम्पत्तीको नाउँमा एउटा सानो एकतले टाटीले वारेको घर, एउटा गाईको बाछी, एउटा सुँगुर र दुई चारवटा जति कुखुरा पनि छन् । जसको धन छैन उसको नाम धनविरे भने झै मनवीरे पनि त्यस्तै रहेछ । उसको पनि मन त ठूलो र धेरै धन कमाउने अनि धनी भई गरिव दुःखीहरुको सेवा गर्ने तर उसको आफ्नो रोजीरोटीको दैनिकी र गरिवीको वास्तविकताले उसको सपना या मनको कुरा त्यो मनवीरे कान्छा दाईले पूरा गर्न नसक्ने अवस्था छ ।
पैसाको लोभमा विदेश पठाइदिन्छु भनेर आफ्नै गाउँको दलालले आजका युवाहरुलाई ठगे जस्तै उनलाई पनि ठगेका रहेछन् । मनवीरे कान्छा दाई जस्तै गाउँबाट भर्खरै शहर आएका सोझा युवाहरुलाई ठग्ने काम त अझै पनि छ । मनवीरे कान्छा दाई सोझो त छन् नै तापनि उनलाई राजनीतिको ज्ञान रहेछ । उनले भने अनुसार उनी पनि राजा विरेन्द्रले गरेको २०३६ सालको बहुदल कि निर्दल शासन व्यवस्था रोज्ने जनमत संग्रहमा सहभागी भएका थिए रे, भनि भन्दैथिए । बहुदललाई मत हालेको तर निर्दलले जित्यो । त्यसमा उनलाई पनि केही खल्लो लागेको रहेछ । त्यस पछि उनले २०४५/०४६ सालको निर्वाचनताका नारा लगाउँदै गाउँ-गाउँ हिाडेका थिए रे तर सच्चा मनदेखि उनलाई राजनीतिको सोख चाही रहेनछ । भन्दै थिए, राजनीति गर्ने मान्छेले भ्रष्टाचार गर्नु हुन्न अनि मात्र देशको विकास हुन्छ । कुनै पनि नेताले भ्रष्टाचार गरेमा उनलाई मार्नु नै उनको सिधा र कठोर सोच थियो । कुनै पनि देशको विकास गर्नलाई यातायात, संचार, विद्युत, खानेपानी, स्वास्थ्य आदिको विकास गर्नु पर्छ अनि मात्र जनताले सुख पाउँछन् र हामी सवै नेपाली धनी हुन्छौ उनको बुझाई थियो । मनवीरे कान्छा दाईको गाउँमा पनि तीन चार वर्ष अगाडि देखि विजुलीबत्ती र गाडीको वाटो पुगेको रहेछ तर उनले आफ्नो जीवनमा भने पहिलो पल्ट पोहोर साल मात्र गाडी देखेका रहेछन् र भन्दै थिए कि गाडी त कति छिटो दौडेको कि घोडा भन्दा पनि धेरै छिटो हगी ? एक पटक घर छेउदेखि बजारसम्म उनी पनि पचास रुपैया तिरेर गाडीमा चढेको रे तर उनलाई गाडी भित्र रिङगटा लागेर वान्ता भएपछि गाडी चड्न मन पराउँदैन रहेछ । उनलाई आजकाल यस्तो लाग्न थालेको छ की हाम्रो गाउँ पनि विस्तारै विकासको बाटोतिर लम्कादै छ र एक दिन सवै सुविधायुक्त समाज बन्नेमा उनी आशावादी छन् ।
मनवीरे कान्छा दाईले विहे गरेपछि पारिवारिक जिम्मेवारीका साथै थोरै खुसी अनि धेरै दुःखहरु थपिएको छ । विहान वेलुका उनले आफ्नी श्रीमतीलाई घरको काममा सघाउदा रहेछन् र त उनकी श्रीमती पनि सधैं खुसी देखिन्छिन् तर कहिले काही चाहि किन हो कुन्नी उनलाई साह्रै रिस उठ्दो पनि रहेछ । उनी भन्दै थिए कि, भाई साप १ विहे गरे पछि आजसम्म दश चोटी त श्रीमतीसँग झगडा नै भयो । उनीहरुको चार छोरी र एक छोरा रहेछन् । गरिवीको मारमा यति धेरै छोराछोरी किन जन्माको भनी सोध्दा उनको उत्तर थियो छोराको आसमा र परिवार नियोजनको वारेमा ज्ञान नभएकाले । उनलाई आजकल शहरमा गर्भ भित्रको बच्चा छोरा या छोरी भनेर जाच्ने मेसीन हुन्छ भन्ने थाहा रहेनछ । डाक्टरले बच्चा पेटमा हुँदा नै मेसीनको सहायताले छोरा या छोरी पत्ता लगाउन सक्ने कुरामा उनी आश्चर्यमा परे र गुनासो गर्दै भने हाम्रो पालामा पनि त्यस्तो सुविधा भएको भए हामी पनि कम छोराछोरी जन्माउन सक्थ्यौँ होला साथै यसको दोस उनले सरकार र स्वास्थ्यकर्मीलाई दिए । वास्तवमा शहरवजारमा स्वासथ्य क्षेत्रमा धेरै सुविधाहरु भए पनि ग्रामिण क्षेत्रमा अझै पुग्न सकेकेा छैन यसमा म पनि उनीसँग सहमत थिए ।
मनवीरे कान्छा दाई मेरो मानसपटलमा जीवनको यात्री भएर यात्रा गरिरहेको छ । उनले आफ्नो जीवनको उत्तरार्दसम्म पनि धेरै दुःख गरेको तर सुखको अनुभव कहिल्यै पनि गरेका छैनन् र भन्दै थिए धनिहरुलाई मात्र सुख हुन्छ होला । किन हो कुन्नी निदारमा हात राख्दै सुस्ताए र खुइया गर्दै भने भाई ! दुःख भनेको के हो त्यो मैले जीवनमा धेरै भोगेको छु । मैले दुख गरे पनि मेरो भावी सन्ततीले मैले जस्तो भोग्नु नपरोस् भन्ने आशा छ । उनी पनि आफ्नो छोराछोरीलाई देशको ठूलो मान्छे भएको हेर्ने धोको छ तर उनलाई थाहा छ उसको इच्छा पूरा हुनेछैन । आफ्नो गाउँ ठाउँको विकास गर्न सके मात्र देशको विकास हुनसक्छ जसको लागि इमान्दार र योग्य व्यक्तिले समाजमा अग्रणी भूमिका निर्वाह गर्नु पर्नेमा उनले मलाई सुझाव दिए । अबको चुनावमा हामीले हाम्रो गाउँ र समाजका समस्याहरुलाई वुझेर समाधान गर्न सक्ने योग्य व्यक्तिलाई हामीले चुनेर पठाउनु पर्छ र मात्र हाम्रो देशको पनि छिटो विकास हुनेछ र हामी पनि एक दिन विश्वका धनी देशहरु अमेरिका, युरोप जस्तै हुने थियौ । मैले मनवीरे कान्छा दाईलाई सम्झाउँदै भने हेर्नुस मनवीर दाई ! हाम्रो देश पनि विश्को सभ्रान्त देशहरु जस्तै हुादैछ । हाम्रो देशमा गणतन्त्र आई नयाँ संविधान बन्दैछ जसवाट तपाई हामी जस्ता गरिव निमुखा जनताको जीवनस्तर उकासिदैछ । सुन्नुस् दाई, अव देशमा पहिले जस्तो जातीवाद, धर्मवाद, वर्णवाद जस्ता विभेदकारी वादहरु हुनेछैन । सवै जनतालाई समानुपातिक रुपले विकासको मुलधारमा ल्याइदैछ । गरिव, निमुखा, पिछडा वर्ग जनजाती, उत्पीडन, मधेसी, महिला सहित सबैको हक अधिकारको सुनिश्चित संविधानमा प्रत्याभुति हुने गरि लेखिदैछ । के यो हाम्रो लागि खुसिको खवर हैन र ? हाम्रो देशमा पनि अव गरिवको छोराछोरीले शासन सत्ताको बागडोर सम्हाल्न सक्ने व्यवस्था बन्दैछ । अव देशलाई पहिला जस्तो केन्द्रिकृत रुपमा नभई विकेन्द्रित रुपमा प्रदेशहरु वनाई विकासलाई द्रुतगतिमा अगाडि वढाई समग्र देशकै विकास गन सकिने छ । मैले भन्दै गए दाई मन हार्नु हुादैन, सास रहेसम्म आश गर्नुपर्छ वीर शहिदहरुको वलिदानी र योद्धाहरुको त्यागको अपमान हुनु हुँदैन नि । सरकारले भन्दैछ अब जलविद्युतमा धेरै भन्दा धेरै स्वदेशी तथा विदेशी लगानी गर्ने रे । जसवाट उत्पादीत विद्युत हामी विदेशीलाई विक्री गरी धनी बन्न सक्छौ । हेर्नुस् अव नजिकैको त्यो खोलाबाट पनि छिट्टै विजुली उत्पादन गर्ने अनि त्यसको विक्रीबाट हामी आर्थिक रुपमा पनि सम्पन्न हुनेछौं । त्यसरी नै कृषि, पर्यटक, उद्योग, कलकारखानाको पनि विकास गरिनेछ । त्यसबाट हामी थप राजगारीका साथै आयआर्जन गर्न सक्नेछौं ।
आदी इत्यादी कुराकानी गर्दा गर्दै समय वितेको पत्तै नभई साँझ पर्न लाग्यो र म पनि मनवीरे कान्छा दाईसँग विदा माग्दै मुसाफीरको समापनसगै मेरो रोजीरोटीको शहर काठमाण्डौ आइपुगेर सोच्दैछु कि के मैले मनवीरे कान्छा दाईलाई त आस्वस्त पारेर आए तर आफैं दुविधामा छु । साच्चै हाम्रो देश पनि एक दिन विश्वको सम्पन्न देश सरह वन्न कहिले सक्ला त ? के मनवीरे कान्छा दाईलाई मैले बाँडेका आस्वासनहरु हाम्रो देशमा एकदिन सम्भव नहोला त ? जय विकास ! जय देश !
दिपेन्द्र राई
काठमाडौं ।
म यात्री र मनवीरे कान्छा दाई


प्रतिक्रिया
* कुनै प्रतिक्रिया फेला परेना ।