खम्बुवानमा सयौंका सङ्ख्या र अनगिन्ति थुम र गढीहरूको चर्चा पाइन्छ । थुम भन्नाले त्यतिवेला खम्बुवानका स्वायत्त प्रशासनिक इकाई हुनुपर्छ, जुन निश्चितक्षेत्रमा सीमाङ्कति पनि भएको होस् । र, गढीचाहिं त्यसको मुख्यकेन्द्र वा किल्ला हो, जहाँ खासगरी प्रशासनिक र सुरक्षाकेन्द्र रहेका हुन्थे । तर मुख्य थुमहरूको विभाजन विशेषगरेर खम्बूजातिका मूलपाछा समूहको आधारमा बनेको देखिन्छ । जस्तो-खोटाङ-चामलिङथुम, हतुवा-वान्तवाथुम, रावा-साम्पाङथुम आदि । फेदाप पनि प्राचीन खम्बुवानको त्यस्तै एउटा थुम नै हो, त्यो दश धनुर्धारीहरूले कब्जा गरेपछि विकास भएर दश लिम्बुवानको केन्द्र बन्नपुग्यो । (त्यो केन्द्र पछि विजयपुरमा सर्यो) तर खम्बुवानका अन्य थुमहरू त्यस्तो बन्न सकेनन् । खम्बूजातिका यी मूलपाछा समूह (मूलपाछा समूह किन भनिएको हो भने यिनीहरूभित्र पनि थुप्रै पाछा तथा उपपाछाहरू बनेका हुन्छन्) भिन्न भाषा र सांस्कृतिक समूह पनि हुन् । आज यी समूहहरू मिश्रतिढङ्गले रहेका भएता पनि पहिले पृथक निश्चितक्षेत्र वा थुमको सीमाक्षेत्रमा बाँडिएरै रहन्थे भन्ने त्यसको झल्को अझै पाइन्छ । तर खम्बुवानका ती पहाडी थुम र गढीहरू कति ऐतिहासिक र कतिचाहिं होइनन् खोज-अनुसन्धानको आवश्यकता छ । राणाकालमा बग्रेल्ती थुम र थढीहरू निर्माण भएका देखिन्छन् । जेहोस् सबै ऐतिहासिक किल्लाहरूबाट गोर्खालीको अतिक्रमणविरुद्ध कडा प्रतिरोध भएको इतिहासमा उल्लेखित छ । त्यसमध्ये महेन्द्रसिंको धुलिखेलं, उलिङहाङ र वलिङहाङको तामाकोशीक्षेत्र (अज्ञातथुम), सुनहाङको हतुवाथुम, चतिमको रावाडुम्रेथुम, अगमसिंको चौदण्डी, खिकामाछा, फालीदिंला फालीथुम आदि उल्लेखित भए पनि बाँकी ओझेलमै छन् ।
भोजपुरको उत्तरीभेग अर्थात सुन्तलेउत्तर ऐतिहासिक फालीथुम हो । रावाथुम नै साम्पाङहरूको ऐतिहासिक थुम भएपनि पछि यो फालीथुममा पनि साम्पाङहरूकै बाहुल्यता पाइन्छ निकै पहिलेदेखि नै । भोजपुरको सुदूर-उत्तरको कुलुङ गा.वि.स.मा भने कुलुङ समूहका खम्बूहरू सोलुको महाकुलुङबाट आएर बसे । हालको खोटाङ जिल्ला वा डाँडापारि (पहिलेको तीननम्बर)को रावाखोला र तापखोलाक्षेत्रलाई खम्बूजाति साम्पाङ समूहको मूलथलो मानिन्छ । यसैक्षेत्रको बासपानी-पाथेकातिर यही समूहको एउटा परिवार बस्दथ्यो । त्यहाँ पालिएको एउटा गतिलो सुँगुर सधैजसो टाढाटाढासम्म चर्न-डुल्न गएर र्फकन्थ्यो, तर एकदिन त्यो फर्किएन । सुँगुर सधै रातोमाटोको आहालमा खेलेर शरीरभरि रातै हिलोले रङ्गिएर आउने गर्दथ्यो र बाटैभरि भित्तामा त्यही रातोमाटो दलिएको निशाना पहिल्याउँदै घरमूली शखुसिं सुँगुरको खोजीमा निस्किए । पहिल्याउँदै जाँदा हालको साङपाङ गाउँको मध्येडाँडामा दुईवटा ढुङ्गा खप्टिएर रहँदा बीचमा खाली रहेको प्वाँलमा त्यो गतिलो सुँगुर अड्किएर मरेको अवस्थ्मा फेला पर्यो । (अर्को भनाइअनुसार सखुसिं शिकारमा निस्किएर सुँगुर वा बदेल लखेट्दै जाँदा त्यो ढुङ्गामा अडि्कएर मरेको हो भन्ने पनि छ) त्यसपछि त्यो मरेको सुँगुर काटेर केही मासु आफूले लिई बाँकी सबै त्यहींका मानिसहरूलाई बाँडेर शखुसिं घर फर्किए । त्यो सुँगुर अड्किएको ढुङ्गालाई आज पनि बहब्चा भनिन्छ, वरिपरिको स्थानलाई समेत । साम्पाङ भाषामा भ भनेको सुँगुर र हाब्मा भनेको अड्किनु भन्ने हुन्छ । यही 'भहाब्मा' (सुँगुर अड्किएको) शब्द नै अपभ्रंशहुँदै बहब्चा भएको हुनुपर्छ ।) केही समयपछि शखुसिंले आफ्नो सुँगुरले रुचाएको ठाउँ भनेर यतै बसाइँसर्ने विचारगरी सपरिवार आएर नम्तङगूमा स्थानीय तिङलावा र बुङ्लावा भनिने समूहसँग मिलिजुली बस्न थाले । रहँदाबस्दा एकदिन जमिनको हकसम्बन्धी विवाद निस्कियो । ती तिङलावा र बुङ्लावाहरूले आफूहरू पहिलेदेखि नै बसिआएको हुनाले यो भूमि आफ्नोमात्र भएको र शखुसिंले पनि आफ्नोसमेत पौरख परेकोले आफ्नो पनि हकदावी गरे । फैसला गर्ने कोही भएन । शखुसिं निकै चतुर भएकाले एउटा जुक्ति निकाले । त्यो यस्तो थियो "जसले जमिनमा मुड्कीले हिर्काउँदा जमिन कराउँछ वा जमिन बोल्छ, उसैको हुन्छ ।" यो सर्त तिङलावा र बुङ्लावाहरूलाई पनि मञ्जुर भयो । यसैबमोजिम पहिले उनीहरूले जमिनमा जोडले मुड्की बजारे तर, कतिगर्दा पनि जमिन बोल्दै बोलेन वा कराएन । तर जब शखुसिंले जमिनमा हिर्काए, त्यहाँबाट च्याँरच्याँर आवाज आयो । यो सुनेर तिङलावा र बुङ्लावाहरू तीनछक्क परे । र, विचरा पुराना वासिन्दा भएर पनि आफैलाई धिक्कार्दै खोला तरेर तिङ्लावा बोयातिर गए भने बुङ्लावा अरुबोटेतिर लागे । बोयामा अझै तिङ्लावा छन् भने आरुबोटेका हर्कालीहरू बुङ्लावाका सन्तान हुन् भन्ने अनुमान गरिन्छ ।

सुत्केरी ढुङ्गा, चिउरीबोटेचलाख शखुसिंले जमिनमा मुड्की हान्दा आवाज आउनुको रहस्य के थियो भने उनले पहिले नै त्यहाँ खोपिल्टा बनाएर एउटा चरा (कालीजुरेली) राखी माथिबाट झिंजा र माटोले छोपेका थिए र छेउमा हिर्काउँदा त्यही चरा कराउँथ्यो । सोझा तिङलावा र बुङ्लावाहरूलाई यस्तो चलाखी थाहै भएन र पहिलो वासिन्दा भएर पनि ठाउँ छाड्न वाध्य भए । शुरुमा शखुसिं बसेको थलो नम्तङगू भएपनि यसरी शखुसिंले तिङलावा र बुङ्लावाहरूसँग बाजी जितेर शुरुमा बस्ती बसालेको ठाउँ आज साङपाङ गाउँको वडा नं. १ स्थित चिउरीबोटेलाई मानिन्छ । उनले विजय गरेर हक स्थापित गरेको चिनो एउटा ७-८ फिट अग्लो, २ इञ्च मोटो र डेढ फिट चौडा दह्रोसँग गाडिएको ढुङ्गा अझै छँदैछ । यसलाई कसैले तिङलावाहरूले छाडिजाँदा चिनोस्वरूप वा सीमानाको रूपमा गाडेको, कसैले वाजीमा हात्ती, गैंडा, बाघ, कस्तुरी आदि बाँध्न गाडिएको त कसैले सुत्केरीले गाडेको पनि भन्ने गर्दछन् । यसप्रकारका ढुङ्गाहरू अन्यत्र पनि पाइन्छन् । यहींबाट सिङ्गै डाँडाभरि शखुसिंको वंश फैलिए । उनी साम्पाङ मूल पाछाको भएकाले यस गाउँको नाउँ पनि साम्पाङ/साङपाङ रहन गयो । कतिपयले सोताङ, कुलुङ, बोखिम, तङ्गेछा, साङपाङ/साम्पाङ आदि गाउँठाउँका नाउँहरूबाटै पाछा बनेको गलत धारणा पनि बनाएका छन् । तर, सच्चाइ त यो हो कि ठीक उल्टो त्यही खम्बूपाछाको आधारमा पो ती गाउँहरूको नाम रहनगएको हो । हाम्रा पुर्खा शखुसिं पनि महान् छन्, जसले आफ्नो मूलपाछामा गाउँको नाम नै साङपाङ/साम्पाङ स्थापित गरिदिए ।
इतिहास पुरुष र यस साङपाङ गाउँको विरासत बनेका शखुसिंका चारभाइ छोराहरू थिए । जेठा-तमंछा/तमंछाली, माइला-दुमंछा/दुमंछाली, साइँला-दमृछा/दमृसा/दमृसाली, र कान्छा-हाचंछा/हाचंछाली/हार्तम्छाली हुन् । तर तमंछा, दुमंछा, दमृछा र हाचंछामात्र सही नाम हुन्, पछिल्ला अरु भनिने गरेका नाउँहरू अपभ्रंस भएका हुन् । नाममा अपभ्रंस हुनेक्रममा दिल्पाबाट आएकालाई दिल्पाली, खार्तम्छाबाट आएकालाई खार्तम्छाली भनिएको हुँदा त्यस्तै मिलाउनेक्रममा सबै पाछाहरूमा ली थपिएको बुझिन्छ । कसैकसैले दमृछालाई भने दुमंछाबाटै छुट्टएिको पनि मानिआएका छन् । जेहोस् आज शखुसिंका छोराहरूका सन्तानले डाँडाकाँडा ढाकिएको छ । प्रत्येक नाउँलाई पाछा मानेर कुटुम्बेरी चलाइएको छ र यसमध्ये तमंछा वा तमंछाली नाउँका अरु समूह पनि साङपाङ र बोया गाउँमा पनि छन् । ती कति त तमंछाबाटै छुट्टएिका र कतिचाहिं बनाइएका भाइ हुन्, भनिन्छ । सखुसिंपुत्र तमंछावंशको कान्छाहाँगाको रादिहाङका एकजना वंशज खापाचेबाटै हाल सुखिमटोलतिरका तमंछालीहरू बनेको देखिन्छ । अरु टाँडघरे होमेको खलक र बोया-बेखौंछा-तुमाङका तमंछालीहरू जेठाहाँगा रजिमुखीको वंश सुवाकण्ठबाट छुटेको हो कि, यो खोजिकै विषय छ । यिनीहरू पनि तमंछा नै हुन् तर, यी सबै समूहसँग अहिले सबैको कुटुम्बेरी चलिसकेको छ भने बरु, जेठा हाँगा वा रजिमुखीका वंशजसँग यो बृहत कान्छो हाँगाको लाखिमसाका वंशज एउटै वंश मानिन्छ, कुटुम्बेरी छैन । खापाचेकी नातिनी अरादराईकी छोरी रूपासँग जसपालसिं थापाको सम्बन्ध भएर आजका बगलेका पुर्खा उजुरसिं जन्मिएको बताइन्छ । यसका बारेमा तथ्यले के बताउँछ भने मानापाथीमा छाप लगाउने शिलशिलामा ती थापा त्यस टोलीको नेतृत्व गरेर आएका थिए र त्यहीक्रममा रूपासँग सम्बन्ध कायम भएपछि उनी गइसकेका हुनाले उनका सन्तानलाई पनि आफ्नै पाछा दिएर तमंछाले नै भाइ बनाएका थिए । यही मानापाथीको छाप लगाउने घटनाले नै टोलको नाम छाप्लेगाउँ रहेको पनि बताइन्छ । त्यस्तै विन्दमान होमेको खलकले डाँडाघरेहरूलाई भाइ बनाएको देखिन्छ । यसमा पनि ती डाँडाघरेका पुर्खा मञ्चवीर सुँगुरको जगर खोज्दै हिड्ने लिम्बू भएको बुझिएको छ, तर यी दुबै विषयका सम्बन्धमा अरु अनुसन्धान बाँकी नै छ ।

तमंछाडाँडा (चुलढुङ्गे)तमंछालाई कसैले तोमिहँ पनि भन्ने गरेको पाइन्छ । यस पाछाका रानासाम्पाङहरू तापखोलाक्षेत्रको बासपानीतिर छन् । हो, तमंछाको पर्खौली सम्बन्ध त्यही तोमिहँसँग जोडिन पनि सक्छ तर, यो पुष्टि भइसकेको छैन । यसलाई आधार मान्ने हो भने त चारैपाछा तमंछा, दुमंछा, दमृछा र हाचंछा एउटै तोमिहँ हुनुपर्यो । तर साङपाङमा सखुसिंको वंश बसाइँ सरेपछि पाछा छुट्टएिर विभिन्न पाछा बनिसकेको छ । हुन त तोमिहँको छोरा अर्थात तोमिहँछा नाम जेठोमा स्थापित भएर यही नै पछि तमंछा भएको पनि हुनसक्छ । साम्पाङ भाषामा तदुङ्सेको अर्थ जेठो भन्ने हुन्छ र यसैबाट तमंछा नाम रहेको पनि हुनसक्छ । जेहोस् साङपाङ गाउँमा बृहतरूपमा रहेको तमंछा वंश विभिन्न नाममा रहेको छ । यो सिंगैक्षेत्रमा साम्पाङहरू तापखोला र रावाखोलाक्षेत्र बासपानी, खार्ताम्छा, पाथेका र फेदीबाट आएको भए तापनि उनीहरू यहाँका पुरानै बासिन्दा मानिन्छन् । 'खार्ताम्छा, साङपाङ, तुंगेछा' आदि गाउँहरूको नाम सिधै मूलपाछा र पाछामा आधारित छन् र ती आज पनि जिउँदो दसी बनेर उभिएकै छन् । यसबाहेक स्यामिङ, तुमाहा, बेखौंछा, तुमाङ, ताम्पेलुङ, लुम्बुङ, छुरुङ, खमालुङ, अमालुङ, झयुङ, ठोकढा, सयुँङ, वैराङ, तमालुङ आदि गाउँठाउँको नाउँ विशुद्ध साम्पाङ भाषामा रहेका छन् । यसमा सबैको अर्थ खोजिको विषय भएपनि 'खमालुङ' 'खँमा' र 'लुङ' शब्द मिलेर बनेको हो, यसको अर्थ 'हेर्नेढुङ्गा' अर्थात 'रमितेढुङ्गा' भन्ने नै लाग्छ । आजभोलि त्यही रमितेढुङ्गादेखि उँधो देखिने सिङ्गैपाटोलाई नै खमालुङ भनिन्छ । अर्थात 'खँमा' भनेको भुनीसुँगुर पनि हो । 'खमालुङ'क्षेत्रका खोला र ढुङ्गाका ओढारहरूमा बच्चासहितका बदेलका बथान बस्थे होलान् । त्यसैले पनि 'खमालुङ' भनियो होला । लङब/लुबुः भनेको माटाको भाँडा (घ्याम्पो) हुन्छ, सायद आजको 'लुम्बुङ' भनिएको ठाउँमा माटाको भाँडा बनाइन्थ्यो होला किनभने त्यहाँ भाँडा बनाउन उपयुक्त माटो पाइन्छ । त्यस्तै तमालुङ त तमंछा वंशका एक पुर्खा नै हुन् । तुंगेछा साम्पाङ समूहकै एउटा पाछाको नाम हो । बेखौंछा गाउँको नाम साम्पाङ समूहकै बेखम वा बेखम्छा पाछाबाट रहेको हो । बेखम आजका बेखौंछालीहरूका पुर्खार् हन् । सखुसिंले पहिले तिङलावासँग भेट भएर एकसाथ बसोबास गरेको स्थान नम्तङगू भएपनि त्यसपछि सबै गतिविधि हालको चिउरीबोटेमा भएको देखिन्छ । तमंछा र हाचम्छावंश चिउरीबोटेबाटै तमंछाडाँडा (चुलढुङ्गे) टारबारहुँदै चारभैयाटोल, छाप्लेगाउँ, बकछामा र भीरगाउँसम्म, दुमंछा सयुँङ-बाँझगरा (सिमखेतछेउ) हुँदै उँभो, दमृछा चौतारेडाँडा-तोरीबारीहुँदै माथितिर लागे ।

सुत्केरी ढुङ्गा, चिउरीबोटे
इतिहास पुरुष र यस साङपाङ गाउँको विरासत बनेका शखुसिंका चारभाइ छोराहरू थिए । जेठा-तमंछा/तमंछाली, माइला-दुमंछा/दुमंछाली, साइँला-दमृछा/दमृसा/दमृसाली, र कान्छा-हाचंछा/हाचंछाली/हार्तम्छाली हुन् । तर तमंछा, दुमंछा, दमृछा र हाचंछामात्र सही नाम हुन्, पछिल्ला अरु भनिने गरेका नाउँहरू अपभ्रंस भएका हुन् । नाममा अपभ्रंस हुनेक्रममा दिल्पाबाट आएकालाई दिल्पाली, खार्तम्छाबाट आएकालाई खार्तम्छाली भनिएको हुँदा त्यस्तै मिलाउनेक्रममा सबै पाछाहरूमा ली थपिएको बुझिन्छ । कसैकसैले दमृछालाई भने दुमंछाबाटै छुट्टएिको पनि मानिआएका छन् । जेहोस् आज शखुसिंका छोराहरूका सन्तानले डाँडाकाँडा ढाकिएको छ । प्रत्येक नाउँलाई पाछा मानेर कुटुम्बेरी चलाइएको छ र यसमध्ये तमंछा वा तमंछाली नाउँका अरु समूह पनि साङपाङ र बोया गाउँमा पनि छन् । ती कति त तमंछाबाटै छुट्टएिका र कतिचाहिं बनाइएका भाइ हुन्, भनिन्छ । सखुसिंपुत्र तमंछावंशको कान्छाहाँगाको रादिहाङका एकजना वंशज खापाचेबाटै हाल सुखिमटोलतिरका तमंछालीहरू बनेको देखिन्छ । अरु टाँडघरे होमेको खलक र बोया-बेखौंछा-तुमाङका तमंछालीहरू जेठाहाँगा रजिमुखीको वंश सुवाकण्ठबाट छुटेको हो कि, यो खोजिकै विषय छ । यिनीहरू पनि तमंछा नै हुन् तर, यी सबै समूहसँग अहिले सबैको कुटुम्बेरी चलिसकेको छ भने बरु, जेठा हाँगा वा रजिमुखीका वंशजसँग यो बृहत कान्छो हाँगाको लाखिमसाका वंशज एउटै वंश मानिन्छ, कुटुम्बेरी छैन । खापाचेकी नातिनी अरादराईकी छोरी रूपासँग जसपालसिं थापाको सम्बन्ध भएर आजका बगलेका पुर्खा उजुरसिं जन्मिएको बताइन्छ । यसका बारेमा तथ्यले के बताउँछ भने मानापाथीमा छाप लगाउने शिलशिलामा ती थापा त्यस टोलीको नेतृत्व गरेर आएका थिए र त्यहीक्रममा रूपासँग सम्बन्ध कायम भएपछि उनी गइसकेका हुनाले उनका सन्तानलाई पनि आफ्नै पाछा दिएर तमंछाले नै भाइ बनाएका थिए । यही मानापाथीको छाप लगाउने घटनाले नै टोलको नाम छाप्लेगाउँ रहेको पनि बताइन्छ । त्यस्तै विन्दमान होमेको खलकले डाँडाघरेहरूलाई भाइ बनाएको देखिन्छ । यसमा पनि ती डाँडाघरेका पुर्खा मञ्चवीर सुँगुरको जगर खोज्दै हिड्ने लिम्बू भएको बुझिएको छ, तर यी दुबै विषयका सम्बन्धमा अरु अनुसन्धान बाँकी नै छ ।

तमंछाडाँडा (चुलढुङ्गे)
पहिलेका तिङलावा विस्थापित भएकाले त्यसपछि यस गाउँमा आएर स्थापित हुने सखुसिंका वंश नै पहिलो हुनुपर्छ । सखुसिंका कान्छाभाइ पत्तासिं नामूद नाक्छोङ भएकोले उनले सुप्तुलुङ र तुरिवा स्थापना गरी चुला र धारापूजाको समेत थालनी गरिदिएर पुर्खाली थलोतिरै फर्किएको बताइन्छ । यहाँ सखुसिंका वंशजबाहेक अरु पनि छन् तर, बढी त साम्पाङ नै छन् । तिनीहरू कति त बनजङ्गलमा भेटिएका पनि भनिन्छ भने दाम्रेवासाम्पाङ (खार्तम्छाली) र छेतापीसाम्पाङहरू अलिक पछि नै आएका हुन् भने मुकारुङवान्तवा (दिल्पाली) त झन् धेरैपछि । अरु खालिङ र चाम्लिङहरूको इतिहास पनि त्यति लामो छैन । यहाँ पहिले मानिसहरू ठोकढाओढारमै बसे होलान् भन्ने अनुमान लगाउन सकिन्छ किनभने आज पनि त्यसमुनि खेतबारीमा माटाको भाँडाका टुक्राहरू प्रशष्ट पाइन्छन् । केही त सन्तगाउँमाथिको ओढारमा पछिसम्मै बसेको भेटिन्थे, भनिन्छ ।
सन्दर्भ स्रोतः
१. साङ्पाङ गाविस वडा नं. ८ निवासी स्व. कर्णबहादुर राईका घरमा अझै सुरक्षित रहेको तमंछा वंशावली
२. साङ्पाङ गा.वि.स. वडा नं. २ निवासी दुर्गाबहादुर राई
३. साङ्पाङ गा.वि.स. वडा नं. ८ निवासी हरिवीरबहादुर राई
४. साङ्पाङ गा.वि.स. वडा नं. ८ निवासी फडिन्द्र राई
५. साङ्पाङ गा.वि.स. वडा नं. ८ निवासी लिचिन्द्रबहादुर राई
६. साङ्पाङ गा.वि.स. वडा नं. १ हाल झापा निवासी सइन्ध्वज राई
७. बोया गा.वि.स. वडा नं. ८ निवासी टङ्कबहादुर राई
- भूमि साम्पाङ
- भूमि साम्पाङ