बिकास संग सगै ।।। Sangpang Welfare Society

 कठमाण्डौ

हाम्रो भनाई

नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको ६३ गाँउ विकास समिति मध्ये उत्तरी क्षेत्रमा अवस्थित साङपाङ गाँउ विकास समितिमा जन्मी हुर्की अर्थात त्यहाँ मूल थलो भई हाल देश विदेशको कुना काप्चामा छरिएर बस्नु भएका तमाम साङपाङवासीहरुलाई ...

साङ्गपाङ्ग गा.वि.स. को चिनारी

अक्षर ठूलो बनाउनुस  अक्षर सानो बनाउनुस
रत्न साङपाङ राई

नखुवा खोला खकूवा खोला
किमालुङ मास्तिर
सिमलको डाँडा सत्तलको डाँडा
देउराली तल्तिर ।

नमस्कार !
प्रस्तुत शव्दचित्रले निश्चयनै कूनै एउटा 'विशेष ठाउँ' को परिचय गराउन खोजे झै लाग्दछ । नखुवाखोला तथा खकूवा यी दुई खोलाहरु कन्चन पानी वोकेर अटुट रुपमा बगि रहेका होलान्, आफ्नै छालहरुसँग लहरिादै । त्यो विशेष ठाउँमा सिमल डाँडा, सत्तल डाँडा जस्ता रमाईला डाँडाहरु पनि हुनु पर्दछ । माथिल्लो भागमा किमालुङ भन्ने स्थान भए तल्लो भेकमा देउराली भन्ने परिचित ठाउँ हुनु पर्दछ । गाँउखाने कथाको शैलीमा भन्नु पर्दा, सहि उत्तर हो - साङ्गपाङ्ग ।

परिचयः
पूर्वी नेपाली पहाडी जिल्ला भोजपूरको ६३ गाँउ विकास समिति मध्ये साङ्गपाङ्ग पनि एउटा गाँउ विकास समिति हो । पूर्व (उत्तर) मा तुंगेछा गा.वि.स., पश्चिममा वोया, उत्तरमा किमालुङ अनि दक्षिणमा देउराली गा.वि.स. ले घेरिएको छ साङ्गपाङ्ग गा.वि.स. । पूर्व दिशामा खकूवा खोला तथा पश्चिममा नखुवा खोला जस्ता शक्तिशाली खोलाहरुले यो गाँउलाई चौविसै घण्टा पहरा दिादै सुरक्षा प्रदान गरे झै लाग्दछ । यी खोलाहरुले तुंगेछा तथा वोया गा.वि.स. को सिमानाको काम पनि गर्दै आएको छ ।

साङ्गपाङ्ग गा.वि.स. को उचाई, जनसंख्या तथा साक्षरता यस प्रकार छन्
- उचाई (समुन्द्र सतह देखि) - १५३४ मिटर (५०६० फिट)
- जम्मा जनसंख्या (२०५८ को जनगणना) ६७२३
- पुरुष (२०५८ को जनगणना) १७६३
- महिला (२०५८ को जनगणना) १९६०
- साक्षरता (२०५८ को जनगणना) ८०.०३%

यहाँको हावापानी समशितोष्ण (न धेरै जाडो न धेरै गर्मी) प्रकारको छ यहाँ वन जंगल, खोला, खोल्सा, भीर पहरा त छदै छन् यसका अलावा भिराला भस्मेहरु, टङगिन (कान्ले) खेत वारीहरु, स-साना टार लगायत सयौ मूरी धान फल्ने उव्जामय फाँटहरु साङ्गपाङ्ग गाँउको छातिमा लम्पसार परेका छन् । गाँउको शिरमा गुारासका थुंगा फूलेका छन् भने विच भागमा सुन्तला, कागती, अम्वा, नास्पाती, आाप, कटहर जस्ता फलफूल फूलेका अनि तल्लो भागमा चिलाउने, लप्सी, दार, साँज, सिसौ तथा साल जातका विभिन्न वनस्पतिका घना जंगल । यिनै लेक वेसीको संगम भूमि हो साङ्गपाङ्ग ।

कार्तिक-मङसिरको आकास खुलेको वेला तिनतले डाँडा मुनिको रानीफाल भन्ने ठाउँदेखि हेर्दा गाँउको पश्चिमी भाग मनै लोभ्याउने गरि पहेल्पूर धानवालीले ढाकेको देखिन्छ । त्यस्तै किमालुङ गा.वि.स. र साङ्गपाङ्गको सिमानामा रहेकेा वैदार भन्ज्याङ (चित्रगुप्ता) देखि हेर्ने हो भने धानका लहलहाउँदा वालाहरु कार्पेटमा कोरिएका फूल वुट्टाझै देखिने ।

गाँउको माथिल्लो (पहिलो वेल्ट) मा मानव वस्ती, दोश्रो वेल्टको पाखावारीमा मकै कोदोका वोटहरु, भटमास, मस्यामका झ्याङहरु, वारीका डिलमा टाटेपाटे सोस्टा, राता राता वेल चण्डा र फूलतरुलका वोटहरु ठिङ्ग उभिएका । केहि ठुला टार वारीमा पहेलै फूलिरहेका तोरी तथा फिलुङगेका वोटहरु । तेश्रो वेल्टमा चाहि खेतै खेतका गाह्राहरु, जहाँ मौषम अनुसारका धान, गहुा वालिहरु फूलि रहेका हुन्छन् । यस्तो प्रकारको भू-वनोट साङ्गपाङ्ग गाँउको अर्को विशेषता पनि हो ।

गाँउको नाम किन र कसरी साङ्गपाङ्ग भयो ? यसका वारेमा विभिन्न जनश्रुतिहरु छदै छन् । वुढापाकाहरुका अनुसार - पूर्व तीन नम्वर (तत्कालिन नेपालको प्रशासनिक वर्गिकरण) खोटाङ जिल्लाको रावाखोला आसपासका प्राचिन "साङपाङ राई" - जातिहरु वसाई सरेर यो ठाउँमा वसोवास गर्न थालेपछि नै यो ठाउँको नाम पनि साङ्गपाङ्ग रहन गयो रे । ती वुढापाकाहरु साङ्गपाङ्गकै आहाले डाँडामा रहेकेा विशाल ढुंगा (वहप्चा ढुंगा) को वारेमा पनि कथा सुनाउथे ।

कथाको सारांश यस्तो छ - रावाखोलाका आसपासहरुमा वस्ने तिनै साङ्गपाङ्ग राई जातिको घरमा पालिएका सुंगुर हराएछ । उनिहरु सुंगुरको पाईला पहिल्याउदै-पहिल्याउदै अहिले साङ्गपाङ्ग भनिने ठाउँमा आई पुगेछन् । सुंगुर आहाले डाँडाको ढुङ्गाको च्यापमा अल्झिएर मरेकेा अवस्थामा भेटियो । आफूले माया गरिकन पालेको जनावर मृत अवस्थामा भेटिएपछि उनिहरु धेरै दुखी भए होलान । त्यति लामो यात्रामा उनिहरु थाके, भोकाए । सुंगुर खोजी गर्ने मिसनलाई शायद कुनै कारणले आफ्नो गाँउ फर्कन मन लागेन होला । उनिहरु जन्मिएको आफ्नो थाक थलोलाई नै माया मारेर नयाँ धरातलमा आवाद गर्दै वस्न थाले । तिनै रावाखोले साङ्गपाङ्ग राईहरुले वसाएको वस्तीलाई नै कालान्तरमा साङ्गपाङ्ग गाँउ भनेर मानियो ।

दुई ठूला-ठूला ढुंगामाथि अर्को ठूलो ढुंगा खप्टिएर सानो गुफा झै देखिने संरचना अहिले पनि साङ्गपाङ्ग गाँउको आहाले डाँडामा छादैछ । उक्त ढुंगाको च्यापमा सुंगुर अल्झिएर मरेकेा कारणलेनै त्यस ढुंगालाई वहप्चा ढुंगा भनेर मानिएको रे । सामान्य वोलीचालिमा कसैकसैले त्यो ढुंगालाई सुंगुरे ढुंगा पनि भन्दछन् ।

साङ्गपाङ्ग गाँउको नामाकरण सम्बन्धि यो एउटा सानो टिप्पणी मात्र हो - सुनि जान्नेको तर्फवाट । यस वारेमा देखि जान्नेहरु कोही पनि भएनन् । वुझि जान्नेहरुले थप अनुसन्धान गर्नको लागि हार्दिक अनुरोध गर्दछु ।

सामाजिक अवस्थाः
साङ्गपाङ्ग गा.वि.स. मा विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका मानिसहरु वसेतापनि "वशुधैव कुटुम्वकम्" । अर्थात सवै जाति, भाषा, धर्म र संस्कृतिका मानिसहरु एक अर्कामा कुटुम्वेरी साइनो गाँसेर सुख शान्तिपूर्वक एकै ठाउँमा वसेका छन् । यो गाँउमा राई जातिका वाहुल्यता भएतापनि वाहुन, क्षेत्री, शेर्पा, तामाङ, सुनुवार राई, नेवार, भूजेल, कामी, दमाई, सार्की, जातिहरु वसोवास गर्दछन् ।

गाँउमा हिन्दु, वुद्ध, किराँत, इसाई धर्मालम्वीहरु छन् । दशै, तिहार, साकेवा (उभौली उधौली) ल्होसार, तीज, ईभ यहाँका मुख्य चाडपर्वहरु हुन् । तिथिमितिमा आउने माघे सक्रान्ति, साउने सक्रान्ति, चैते दशै, भूमीराज, ठूलो, सानो एकादशी आदि जस्ता जाडपर्वहरुपनि मान्ने चलन छ । यी सामान्य चाड पर्वले पनि गाँउलेलाई एकछाक मिठो मसिनो खाने अवसर जुटाई दिन्छ । व्यस्त जीवन भोगिरहेका गृहस्थीहरुलाई कामको चटारोदेखि केही समयको लागि मात्र भएपनि मुक्त गराउँछ ।

जव २०४६ सालमा पंचायती व्यवस्थाको अन्त भयो तव गाँउका धेरै जनजातिहरुले दशैा चाडलाई अस्विकार गरिदिए । उनिहरुले टिका लगाउन छाडी दिए । अझ माओवादी जनयुद्ध पछाडिका परिवर्तित समाजका कुनै गाँउलेले आफूलाई "नास्तिक हुँ" (कुनै पनि धर्म नमान्ने) भनेर घोषणा गरेमा अचम्म मान्नु नपर्ने भयो । व्यक्ति या समाज अव खुल्लम खुल्ला पो भईसकेछन् ।

यो गा.वि.स. मा विभिन्न डाँडाहरु छन्- सत्तल डाँडा, सिमल डाँडा, खोर डाँडा, तिनतले डाँडा, आहाले डाँडा, चिम्काने डाँडा आदि । गा.वि.स. भित्र विभिन्न शाखा गाँउ, टोलहरु छन् - छाप्ले गाँउ, गैरी गाँउ, पात्ले गाँउ, सुनुवार गाँउ, कामी गाँउ, द्वारे गाँउ, सन्त गाँउ, ढाँड गाँउ आदि त्यस्तै वल्लो टोल, पल्लो टोल, माथिल्लो टोल, तल्लो टोल सिकिम टोल ।

वनस्पतिको नामदेखि पनि ठाउँको नामाकरण भएका पाईन्छ । रिट्टावोटे, मालवाँसे, सिमले, बरवोटे, सिस्ने, लाम्पाते, चिउरी वोटे, हर्रावोटे, लप्सीवोटे, ठूट्टेवर आदि । ससाना एरियालाई चिनाउने गाँउहरु - हल्दार गाँउ, मझुवा, कमेरेपानी, कटुवा, तीन धारे आदि ईत्यादि डाँडा, गाँउ, ठाउँ, टोलहरुका एकमुष्ट साझा गाँउको नाम-साङ्गपाङ्ग ।

धेरै पहिले एउटा डाँडा तथा अर्को डाँडा, एउटा गाँउ र अर्को गाँउका मान्छेहरु बीचमा झै-झगडा हुन्थ्यो तर अहिले त्यस्तो छैन । शिक्षा र चेतनाले गाँउघर समाजमा परिवर्तन ल्याइदियो । आजका युवाहरु पढेलेखेका छन् । देश परदेश घुमेर आएका छन् घुम्दै छन् । गाँउमा प्रहरी चौकीको स्थापनाले पनि शान्ति सुरक्षामा क्रमिक सुधार आयो ।

गाँउमा खुलेका सहकारी संस्थाले गाँउघरमा सामुहिक भावनाको विकास गरेको पाइन्छ । समुदायमा मिलेर कुनै पेशा वा व्यवसायमा संयूक्त लगानी गर्ने अवसर जुराएको छ । समुहमा आवद्ध भई सरल ढङ्गबाट स-साना अड्को फड्को फूकाउन सकिने चेतनामा वृद्धि भएको छ ।

वि.स. २०५८ को प्रारम्भिक जनगणना अनुसार साङ्गपाङ्ग गा.वि.स. को कुल जनसंख्या ३७२३ (महिला १९६० पुरुष १७६३) तथा घरधुरी संख्या ७३४ देखाइएको छ । कुल जनसंख्या मध्ये महिलाको संख्या बढी देखिन्छ । निश्चय नै गाँउका धरै पुरुषहरु गाँउ देखि बाहिर गएका छन् । कतिपयको मतगणनामा नाम छुटेको पनि हुन सक्छ ।

अहिलेको सुविधाभोगी समाजको परम्पराले बसाइा सराइमा तिब्रता आएको छ । पहाडका घरवार छाडेर तराई झर्ने क्रम बढ्दो छ । मानिसहरु धरान, विराटनगर तथा राजधानी शहर काठमाडौं तिर खुसु-खुसु घुस्दै छन् । हालको विश्व बजारमा नेपाली कामदारहरुको माग हृवात्तै बढेपछि गाँउका युवा युवतीहरु धमाधम विदेश पलायन हुदै छन् । ''देश पनि हेर्ने, मुख पनि फेर्ने'' हिसावले पाखुरी दह्रा भएका युवांपिढीहरु खाडी मूलुक लगाएत मलेसिया, हङ्ककङ, कोरिया, इजरायल, मकाउ, जापान जस्ता विभिन्न देशप्रति आकषिर्त हुदैछन् । केहि युवाहरु इण्डियन आर्मी, बि्रटिश आर्मी तथा सिंगापूर पुलिसमा कार्यरत छन् ।

गाँउका शिक्षित वर्गमा दरिएका युवा युवतीहरु पनि रोजगार र अवसरको खोजीमा भटाभट शहर पस्दैछन् । उनिहरु सकेसम्म शहर वजारमै स्थापित हुन चाहन्छन् । गाँउघरले यहि नियति भौग्दै गएमा केहि वर्ष पछाडि गाँउमा सायद वालबच्चा तथा वृद्धवृद्धाहरु मात्र रहन्छन होला ।

गाँउका धेरै घरहरु मानव विहिन छन् । उचित स्याहार संभारको अभावमा वि.स. १९९० सालको महाभुकम्पमा पनि नभक्तिएका घरहरु आफसेआफ ढल्दै छन् । ठाउँठाउँका खेतवारीहरु बाँझीदै छन् ।यस्ता विविध सकारात्मक वा नकारात्मक पक्षको वावजुद गाँउमा अहिले टेलिफोन सेवा पुगेको छ । प्रायशः मान्छेको हातमा मोवाइल छदैछ । गाँउमा मोटर गाडी पुग्यो । विजुली बत्ती बल्दै छ । शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सुविधाहरु थपिदै छन् ।

शैक्षिक अवस्थाः
कुनै पनि राष्ट्रको विकासमा शिक्षाको महत्वपुर्ण योगदान रहेको हुन्छ । शिक्षाले नै चेतना र ज्ञानको ढोका खोलि दिन्छ । आधुनिक विश्व जगतमा जे-जति पनि वैज्ञानिक आविष्कारहरु भए त्यसको जस शिक्षाले नै लिएको छ । वैज्ञानिकहरुले विभिन्न विज्ञान तथा प्रविधिहरु जन्माए । अणु र परमाणुको योगद्धारा संसार थर्काए । उर्जा, विकिरण हुादै 'क्लोनिङ' सम्म पुगे । आमसञ्चारको नयाँ प्रविधिले सम्पुर्ण भू-मण्डल एउटै घर आागनमा परिणत भयो ।

दुःखसाथ भन्नुपर्दा हाम्रो राष्ट्र नेपाल शिक्षाको क्षेत्रमा धेरै पछाडि पर्यो । विज्ञान र प्रविधिको क्षेत्रमा 'सियो' बनाउन सकेनौं । नेपालीको प्रवित्तिमा कुनै परिवर्तन भएन, गफ धेरै, काम थोरै ।

राणा शासनको १०४ वर्षे अन्धकार युग पछाडि पंचायती व्यवस्थाको शाही शासन कालले पनि नेपाल र नेपालीलाई प्रगतीको पथमा अगाडि बढाएन ।

यी त भए समग्र नेपालको शैक्षिक चिन्तन । अव हाम्रो गा.वि.स. साङ्गपाङ्गको शैक्षि अवस्था हेर्ने हो भने खासै लामो फड्को मार्न सकेको पाइन्न ।

साङ्गपाङ्ग गाँउको शैक्षिक गतिविधिलाई नियाल्दा निम्न ४ चरणहरुमा वर्गिकरण गर्न सकिन्छ ।
क) पूर्व प्रारम्भिक चरण
ख) प्रारम्भिक चरण
ग) मध्य चरण
घ) समकालिन चरण

क) पूर्व प्रारम्भिक चरणः
यो चरणका हाम्रा बुवा तथा बाजेहरुका पालामा कुनै स्कूलहरु थिएन । शिक्षा दिलाउने कुनै संस्थागत संस्थाहरु नभएकाले कुनै पण्डित, ज्योतिष या गाँउका मुखियाद्धारा सामान्य पठन पाठन हुन्थ्यो । पाटीमा खरीले लेखेर वा माटो धुलोमा काठले कोरेर सामान्य साक्षरता गराइन्थ्यो । त्यस पछाडि माटोको मसीदानीमा विभिन्न वनस्पतीको झोल जम्मा गरेर बाासको कलमले पहाडे कागजमा लेख्न पनि थालियो । यि चरणका युवाहरुलाई कसैले पनि शिक्षाप्रति प्रोत्साहित गरेनन् आफू पनि मोहित बनेनन ।

तत्कालिन राणा सरकारले ब्रिटिश ईण्डियाको चाकरी गरेर आफ्नो सत्ता टिकाउने खेलमा त्यसबेलाका लाखौं नेपाली युवाहरु ईण्डियन आर्मीमा भर्ती गराए । त्यही प्रसंगमा साङ्गपाङ्ग गाँउका पनि अनेकौं युवाहरु विश्वयुद्धमा होमिए । युद्धमैदानमा कतिले वीरगती पाए, कति घायल भए, कति पेन्सन पट्टा खल्तिमा हालेर गाँउ फर्किए ।

गाँउका केही ब्राहृमण परिवारका युवाहरुले भारतको बनारसमा ठुलै संघर्ष गरेर बडो दुखका साथ शिक्षा दिक्षा लिए । उनिहरु भावी पिढींका लागि श्रद्धेय व्यक्ति बने । केही अपवादलाई छाडेर हेर्दा यो चरण गाँउको शिक्षा जगत अन्धकार नै थियो ।

ख) प्रारम्भिक चरणः
२००७ सालमा देशमा राण शासनको अन्त भयो । केही समय राजनीतिक पार्टीले शासन चलाएपछि पंचायति व्यवस्था लागू भयो । कहि कतै फाट्टफुट्ट स्कूल खुल्दै गए । साङ्गपाङ्ग गाँउको हकमा भने राणा शासन हटेर कथित प्रजातन्त्र आएको ६/७ वर्षसम्म पनि स्कूल खुलेन । २०१३ सालमा मात्र भूतपूर्व ईण्डियन सैनिकहरुको सक्रियतामा "सोल्जर्स वोर्ड" मार्फत गाँउमा एउटा प्राथमिक स्कुल खुलेकेा देखिन्छ ।

गाँउमा ५ कक्षासम्म मात्र पढाइ हुनाले हाई स्कुल पढ्नका लागि दिङ्ला, कूलुङ या सदरमुकाम भोजपुर नै पुग्नु पर्ने वाध्यता थियो । यिनै असहजताले गर्दा गाँउका सिमित हुनेखाने विद्यार्थीहरुमात्र अन्यत्र गएर हाईस्कुल पढ्न आाट गर्दथे ।

"पढिगुनी के काम ? हलो जोति खायो माम ।" यो अन्धविश्वासी नाराले पनि गाँउ मुक्त थिएन । प्राइमेरी स्कुलको अध्ययन पश्चात अधिकांश विद्यार्थीहरु खेती किसानतिर लाग्दथे । हट्टाकट्टा युवाहरु ब्रिटिश तथा इण्डियन आर्मी वन्नका लागि गल्लावालको आागनमा छाति नाप्न पुग्दथे । धरानको घोपा क्याम्पमा पुग्दथे, धरानकै फुस्रे क्याम्प तथा ईण्डियाको दार्जिलिङ्ग खर्साङ धाएर भएपनि लाहुरे भईकन छाड्थे । कहि कतै केहि नलागे गाँउमानै घरजम गरेर हलो जोत्दै माम खान्थे ।

यो चरणमा उच्च शिक्षा लिने गाँउका विद्यार्थीहरु धेरै कम मात्रामा देखिएतापनि सामान्य साक्षरता प्रतिशतमा चाहि केही वढोत्तरी भयो ।

ग) मध्य चरणः
देशमा जनमत संग्रहको (२०३६) घोषणा भयो, वहुदल या निर्दल ? पक्ष विपक्षका नेताहरु गाँउघर टोल टोलमा पुग्न थाले । ठाउँ-ठाउँमा नारा जुलुस देखिए । हात्ती आयो, हात्ती आयो फुस्सा.........। निर्दल पक्षिय पञ्चायती व्यवस्थाले चुनाव जित्यो ।

यसपछाडि साङ्गपाङ्ग गाँउमा पनि केहि चेतना फैलियो । देशमा वहुदल आएको भए कस्तो हुन्थ्यो तथा निर्दलले के गरि रहेछ ? वाक स्वतन्त्रता भनेकेा के हो ? जनताको मौलिक हक कसरी स्थापित गर्ने ? आदि जस्ता सवालमा जिज्ञासा, जनताले थोरै भएपनि ज्ञान हासिल गर्न थाले । गाँउका वुढापाकाहरुले पनि शिक्षाको महत्व वुझ्न थाले । परम्परावादी सोचका अभिभावकहरु समेत आफ्ना छोरा छोरीलाई स्कुल पढाउने निधो गर्न लागे ।

छिमेकी गाँउ झ्याउपोखरीमा हाई स्कुल खुल्यो । साङ्गपाङ्ग गाँउका विद्यार्थीहरुलाई पनि आफ्नै घरको दानापानी खाएर हाई स्कुल पढ्ने मौका मिल्न थाल्यो । स्कुल जीवन सिध्याएर उच्च शिक्षाका लाग क्याम्पस पढ्ने विद्यार्थीको संख्या वढ्न थाल्यो । अभिभावकहरु छोरालाई जस्तै छोरीलाई पनि शिक्षा दिलाएमा पाप लाग्दैन भन्ने निष्कर्षमा पुग्न थाले । खर्च-वर्चको लागि अतिरिक्त श्रोतको खोजी हुन थाल्यो । यो चरणमा गाँउमा शिक्षित व्यक्तिहरुको मनग्य उत्पादन हुादै गयो ।

घ) समकालिन चरणः
देशमा वहुदल आयो । के के न भो बाबै ? पृथ्वी नै स्वर्ग पो हुने हो की ? वर्षाको च्याउ झैा विभिन्न पार्टीहरु (दल) उम्रिए । वहुदलिय प्रतिस्पर्धामा चुनाव भयो । पटक-पटक सरकार परिवर्तनको लहर चल्न थाल्यो । समाजमा खुलापन आयो । सरकारले खुला अर्थनीति अपनाएको तथा निजिकरणको दायरा फराकिलो पारेको भनियो । सरकारमात्र नभएर हरेक संघ संस्था, समाज अनि व्यक्ति समेत महत्वकांक्षी वन्दै गए । वहुदलभित्र लोकतन्त्रको व्याख्या हुन थाल्यो ।

शहर, वजार, गाँउ घरमा मोटरवाटो खन्ने होड चलि रहेकै वेला अरुण नदीको तुर्केघाटदेखि झ्याउपोखरी साङ्गपाङ्गको सत्तल डाँडाँ, वैदार भञ्ज्याङ, फाल्दोबाटो, तिनतले हुदै भोजपुर सदरमुकाम सम्म मोटर वाटो खुल्यो । ग्रामिण विद्युतिकरण कार्यक्रम अन्तर्गत तुम्लिङटार देखि साङ्गपाङ्ग सम्म विद्युत प्रवाह भयो । तर अहिले सम्म गा.वि.स. का सवै वार्डमा वत्ति वलेको अवस्था छैन । झ्याउपोखरी देखि डाँडै डाँडा टांगिएका तारले सिमित स्थानहरुलाई मात्र उज्यालो दिएको छ ।

सत्तल डाँडामा रहेकेा पुरानो स्कुल भवन भत्काएर व्लक सिस्टमको नयाँ भवनहरु निर्माण भए । नि.मा.वि. स्तरको स्कुल माध्यमिक विद्यालयको तहसम्म पुग्यो । आफ्नै गाँउमा मा.वि. हुनु खुसीको कुरा नै हो ।

समयक्रम सागै देशमा राजतन्त्र समाप्त भयो । सिंगो राष्ट्र गणतन्त्रमय भयो । मान्छेहरु अझ वुझक्कड हुादै गए । उनिहरुका चाहना र आसाहरु वढ्दै गए । दूर संचारको छालले साङ्गपाङ्ग गाँउलाई पनि कभर गर्यो । अव त त्यहाँका अधिकांश व्यक्तिका हातमा हाते फोन (मोवाइल) छदै छ । ठिकै छ, पाएको सुविधालाई सदुपयोग गर्नै पर्दछ । तर भविश्यका कर्णधार भनिने आजका कलिला विद्यार्थीहरुले मोवाइलको दुरुपयोग नगर्लान भनेर भन्न सकिन्न । यसमा स्वयं विद्यार्थी तथा अभिभावकहरु सचेत रहनु आजको आवश्यकता हो ।

अहिलेको समकालिन चरणमा साङ्गपाङ्ग गाँउको शैक्षिक अवस्थामा दिन प्रतिदिन सुधार हुादैछ । गाँउमा आजको साक्षरता प्रतिशत ८०.०३% हुनु भोलिको लागि शुभ संकेत हो । छिमेकी गाँउ झ्याउपोखरीमा प्लस टु खुलेपछि उच्च शिक्षा लिन चाहने गाँउले विद्यार्थीहरुलाई ठुलै राहत मिलेको छ । आउँदो दिनमा आफ्नै गाँउमा उच्च शिक्षालयको स्थापना गर्नका लागि कम्मर कस्ने वेला आइसकेकेा छ ।

प्रस्तुत विविध चरणहरु केवल एउटा सामन्य सर्भेक्षण मात्र हुन । क्रमवद्ध व्याख्यात्मक टिप्पणी मात्र हुन । शिक्षाका क्षेत्रले त्यस्ता अनेकौ चरणहरु भोगेर, सहेर आजको अवस्थासम्म आइपुग्नु परेको छ ।

साङ्गपाङ्ग गाँउको शैक्षिक इतिहासलाई खोतल्ने हो भने गाँउका ती भूतपूर्व गोरखा सैनिकहरुलाई हामी कदापी भुल्न सक्दैनौ जसले भारतीय सैन्य जीवन पछाडी गाँउमा आएर भारी योगदान दिए । गाँउका ती भू.पू. सैनिकहरु (लाहुरे) जो सात समुन्द्रपारी पुगे, देश विदेश देखे, घुमे, युद्धका वमवारुदभित्र होमिए । तत्कालिन विश्व युद्धमा कति वेपत्ता भए कति घायल भए कसैले युद्धभुमिमानै वीरगति प्राप्त गरे । वाँच्न सफल भएका ती लाहुरेहरु शिक्षाको उज्यालो प्रकाशलाई आत्मसात गर्दैर् गाँउघर फर्किए । तिनै वीर योद्धाहरुले आफ्नो गाँउमा एउटा स्कुल स्थापना गर्ने दृढ अठोट गरे ।

त्यसवेलाका भू.पू. सैनिक स्व. सुवेदार लाल वहादुर राई, स्व. सुवेदार जगत वहादुर राई, स्व. हवल्दार श्री प्रसाद राई, स्व. लप्टन पहलमान सुनुवानर, स्व. दलजीत राई, स्व. सर्दमान राई, स्व. टिकाराम राई, स्व. सार्कवीर राई, स्व. प्रसादमान राई तथा अन्य भू.पू. सैनिकहरुको अथक प्रयासद्वारा तत्कालिन "डिस्टि्रक सोल्जर्स वोर्ड" को सहयोगमा एउटा प्राइमरी स्कुल स्थापना गर्ने निर्णय भयो ।

२०१३ साल श्रीपञ्चमी (सरस्वती पूजा) को दिन सत्तल डाँडा स्थित खुला चौरको रौनक वेग्लै प्रकारको थियो । नजिकै रहेकेा जंगल विचको ठुलो पिप्लाको रुखमा विभिन्न थरिका चरा चुरुङ्गहिरु चिरविर...........चिरविर............गरिरहेका । रातभरको चिसो तुसारो र सिरेटोले कठ्याङ्गि्रएका चौरका वुकी फूलहरु विहानीको न्यानो घामको प्रतिक्षामा शिर ठाडो पार्ने प्रयास गर्दै थिए । पूर्वी उत्तर क्षितिजमा मुसुक्क मुस्कुराउँदै गरेकी मकालू हिमाल । वैदारभन्ज्याङ देखि चिप्लिएको चिसो-चिसो मन्द हावा सत्तल डाँडालाई म्वाई खाँदै वोयाको विहिवारे डाँडातिर हुइकिादै थियो ।

सत्तल डाँडाको चौरमा एका विहानै ती भू.पू. इण्डियन आर्मीहरु भेला भईसकेका थिए । उनिहरुलाई साथ दिनका लागि गाँउका गन्न मान्य, भद्र भलादमी, महिला तथा यूवा शिक्षा प्रेमिहरुको वाक्लै उपस्थिति थियो ।

सामान्य औपचारिकता पश्चात त्यो चौरमा "श्री सरस्वती प्राइमरी स्कुल" स्थापना भएको विधिवत घोषणा गरियो । यसरी स्याल कराउने एउटा निर्जन चौरमा विद्यार्थी कराउने क्रम शुरु भयो । स्कुल संचालनका लागि संस्थापक सदस्यहरु मध्यकै हवल्दार श्री प्रसाद राई, दलजीत राई तथा अन्य सदस्य पालैपालो "सेक्रेटरी" वनेर दिन रात खटिए । पल्टनमानै सामान्य शिक्षा आर्जन गरेको हैसियतले सर्दमान राई, मोहन सिंह राई, टिकाराम राई जस्ता भू.पू. शैनिकहरु स्कुलमा शिक्षक बनेर धेरै हड्डि खियाए, दिमाग खर्चिए । सलाम १ ती भू.पू. सैनिकहरुलाई । साङ्गपाङ्ग गाँउको माटोले तपाईहरुलाई कदापी भुल्ने छैन ।

स्कुल स्थापनार्थ महत्वपूर्ण योगदान दिनु हुने कूल वहादुर राई, कप्तान प्रेमसिंह राई, डम्वर वहादुर राई, गंगा प्रसाद राई, राम प्रसाद राई, गोरे वहादुर राई लगायत अन्य शिक्षा प्रेमी महानुभावहरु प्रति सम्मान व्यक्त गर्न भूलेमा उहाँहरुप्रति अन्याय भएको ठहर्छ ।

प्रारम्भमा स्थापित सरस्वती प्राइमरी स्कुलनै साङ्गपाङ्ग गाँउको प्रथम संस्थागत शैक्षिक केन्द्र वन्यो । स्कुल संचालनमा आएपछि वाहिर देखि पनि पढे लेखेका शिक्षकहरु झिकाएर स्कुलको शैक्षिक स्तर उकास्ने काम भईरहृयो । स्कुल भवन निर्माण देखि लिएर ग्राउण्ड सम्याउने, बाटो वनाउने कार्य समेत जनश्रमदानद्वारा नै पूरा भयो । गाँउको एउटा मात्र स्कुललाई समस्त गाँउलेहरुले हाँसी-हाँसी नै तन, मन र धनले सहयोग पुर्याए ।

अनुशासनको मामलामा स्कुल ज्यादै कठोर थियो । शायद फौजी जीवन भोगेका व्यक्तिहरुद्वारा संचालित स्कुल भएर होला । पठन पाठनको स्तर उच्च देखेर छिमेकी गाँउदेखि टाढा-टाढाका विद्यार्थीहरु समेत उक्त स्कुलमा अध्ययन गर्न आउँदथे ।

सत्तल डाँडामा औपचारिक स्कुल स्थापना भएपछि तीनधारेको डिलनेर वारीमा वाँसको चित्राले वारेर माना चामल भर्दै संचालन भएको मौसमी साक्षरता कक्षा वन्द भयो । जहाँ वाक्छाली गोरे बहादुर राई (गोरे जेठा) ले टोलका केटाकेटीहरुलाई गुन्द्रीमा वसाएर सिलोटको पाटीमा खरी ढुङ्गाले लेखेर क ख सिकाउँथे । त्यसरीनै अन्य केहि ठाउँका छाप्रो, कोठे साक्षरता केन्द्रहरु पनि निस्कृय भए ।

साङ्गपाङ्ग गाँउको शैक्षिक गतिविधिको इतिहासलाई नियाल्दा अर्को एउटा प्रसंगलाई पनि कोट्याउन आवश्यक ठान्दछु । देश देशान्तर घुमेका र वुझेको जोशिला युवा स्व. भोजविक्रम राईको सक्रियतामा २०२६ सालमा "अनिवार्य निशुल्क प्राथमिक शिक्षा"(अ.नि.प्रा.शि.) योजना लागु भयो । योजना अनुसार गाँउका नौ वटै वार्डमा स्कुल खुल्ने भए जहाँ वाल वच्चाहरु अनिवार्य रुपमा पढ्न जानु पर्ने नै भयो । ती स्कुलहरु निशुल्क हुने भए । तर यो महत्वकांक्षी योजना भने जस्तो तथा सोचे जस्तो रुपमा सफल हुन सकेन । तर पनि यो योजनाले तत्कालिन समाजमा शिक्षा प्रतिको चासो तथा चिन्तनमा चाहि परिवर्तन ल्याएकै हो । त्यसवेला खुलेका श्री लक्ष्मी प्रा.वि. तथा श्री शारदा नि.मा. वि. अहिले सम्म अस्तित्वमा नै रहि रहेको पाईन्छ ।

समयले फड्को मार्दै जाँदा हाल साङ्गपाङ्ग गा.वि.स. मा संचालित विद्यालयहरु यसप्रकार छनः
१. सरस्वती मा.वि. सत्तल डाँडा
२. शारदा नि.मा.वि. मझुवा
३. लक्ष्मी प्रा.वि. मालवाँसे
४. कालिका प्रा.वि. लुङवुङ
५. मालिका प्रा.वि. सुनुवार गाँउ
६. चण्डीका प्रा.वि. देउराली, रिट्टावोटे
७. अरुण वरुण वाल वाटिका वोर्डिङ स्कुल सत्तल (निजि विद्यालय)

अहिलेको प्रतिस्पर्धी जमानामा विद्यालयको संख्या वढ्दैमा हामीले हाम्रो नाक घिरैलाझै फुलाएर वस्ने अवस्था छैन । वर्तमान परिवेशमा संख्यात्मक भन्दा गुणात्मक शिक्षाको खाँचो छ । स्थापित विद्यालयहरुलाई स्तरिय मापदण्डमा पुर्याउनका लागि सम्वन्धित शिक्षक, विद्यार्थी, अभिभावक तथा तमाम साङ्गपाङ्ग वासीले कम्मर कसेर लागि पर्नुपर्नेछ ।

गाँउको सवैभन्दा पुरानो तथा प्रमुख शैक्षिक केन्द्र श्री सरस्वती प्राइमरी स्कुलले (२०१३ सालमा स्थापित) आफ्नो वामे सराइको क्रममा ४४ वर्ष पछाडि २०५७ सालमा मात्र कक्षा ८ सम्म कक्षा संचालन गर्न अनुमति पायो । कछुवा गतिमा हिड्दा हिड्दै विचराले करिव ४८ वर्ष पछाडि २०६१ सालमा मात्र माध्यमिक विद्यालयको दरवन्दी प्राप्त गर्न सफल भयो । तथ्याङ्क आफैमा वोलिदिन्छ सयौ हण्डर तथा हजारौ ठक्कर खाएछौ नि "सरस्वती प्राथमिक स्कुल" ।

विगतमा जे भएतापनि अहिले आत्ति हाल्ने अवस्था छैन । रोष प्रकट गरेर फिल्डमा उत्रनु छैन । दुःख प्रकट गरेर आासु खसाएर मात्र पुग्दैन । गाँउका हामी गाँउलेहरु कही कतै चुक्यौ होला कही कतै हराएका थियौ होला । सरकार कुटनीतिक भाषामा वोलि रहेकै हुन्छ - "विकासको लहर गाँउ सम्म टोल-टोल सम्म पुर्याउनु छ । विकास क्रमवद्ध रुपमा भइनै रहेको हुन्छ ।"

यही स्कुलमा क ख ग घ छिचोलेका विद्यार्थीहरु अहिले डाक्टर, इन्जिनियर, पाइलट, वकिल, प्राध्यापक आदि वनेका छन् । कोही माथिल्लो तहका सरकारी प्रशासक वनेका छन् कोहि विभिन्न संघ संस्थाहरुमा राम्रै हैसियत जनाउने स्थानमा पुगिसकेका छन् । यी पूर्व विद्यार्थीहरुले उक्त स्कुललाई एकपटक पछाडि फर्किएर हेर्ने पो हो कि ? निश्चयनै आ-आफ्नो स्थानदेखि औकात अनुसारको सहयोग तथा सरसल्लाह दिनु मनासिवनै ठहर्ला । प्राथमिक तहको जगदेखि उठेर मा.वि. तह सम्म हिड्दै गरेको उक्त विद्यालयलाई उच्च मा.वि. तर्फ धकेल्नका लाग समयमा नै आवश्यक पहल गर्न जरुरी छ ।

विभिन्न समयमा स्थानिय निकायको नेतृत्व समहाल्दै, विद्यालयलाई संरक्षकत्व प्रदान गर्दै, शिक्षारुपी विरुवालाई फलाउने तथा फूलाउने अभियानमा अग्रसर हुनु भएका कूल वहादुर राई, गंगा प्रसाद राई, डम्वर वहादुर राई, हरिबीर बहादुर राई, नन्द वहादुर राई, भूमीदल राई तथा शिव कुमार राई प्रति न्यानो अभिवादन । त्यस्तै विभिन्न चरणमा विद्यालय संचालन समिति (व्यवस्थापन समिति) मा रहनु भएका अध्यक्ष तथा समितिका सम्पूर्ण सदस्यहरु निश्चयनै धन्यवादका पात्र हुनु हुन्छ ।

विद्यालयको उत्तरोत्तर प्रगति तथा विद्यार्थीका उज्जल भविश्यका लागि कठोर परिश्रमका साथ खरो उत्रनु भएका तपाईा विभिन्न कालखण्डका प्रधानाध्यापकहरु रमेश जोशी, वल वहादुर श्रेष्ठ, देवेन्द्र राई, तुलसीराम का�ले, भक्त वहादुर कार्की, गौरीशंकर का�ले, अम्वर वहादुर राई, रीता राई, प्रकाशचन्द्र खतिवडा लगायत शिक्षारुपी सागरमा चकडस्टरसाग रमाउँदै, नुनिलो पसिना पिउँदै डुंगा खियाउने माझी वन्नु भएका सम्पूर्ण ज्ञात अज्ञात सहयोगी शिक्षक शिक्षिका तथा स्वयंसेवक महानुभावकहरुप्रति हाल विद्यालयमा अध्ययनरत विद्यार्थी, भूतपूर्व विद्यार्थी तथा सम्पूर्ण अभिभावकहरु धेरै ऋणी छौँ । जय होस-हजुरहरुको । शिक्षा दान-महादान ।

माफ गर्नुहोला । साङ्गपाङ्ग गा.वि.स मा अन्य विभिन्न विद्यालयहरु पनि छन् । चाहना हुदा हुदै पनि ती विद्यालयहरुका वारेमा यो सानो लेखमा अटाउन सकिएन । कुनै समयमा ती विद्यलायहरुका वारेमा पनि चर्चा गरौला । गाउका एउटा मात्र माध्यमिक विद्यालय हुनु तथा म स्वयं पनि ४२ वर्ष अगाडि सोहि विद्यालयमा अध्ययन गरेको नाताले केवल सरस्वती मा.वि. को वारमेा मात्र सामान्य टिपोट गर्न खोजिएको हो ।

आर्थिक अवस्थाः
साङ्गपाङ्ग गाँउको मुख्य पेशा कृषि हो, तसर्थ यहाँको मुख्य आयश्रोतपनि कृषि नै हो । धान, मकै, कोदो, जौ, गहुा यहाँको प्रमुख खाद्य वाली हुन भने दलहन, तोरी, फापर जस्ता सहायक फसल हुन् । सुन्तला, अलैची, आलु गाउका प्रमुख नगदे वाली हुन् ।

हिमाली भेकमा केही चौरी पालन भएतापनि अन्यत्र व्यवसायिक रुपमा नै गाई, भैसी, भेाडा, वाख्रा तथा कुखुरा पालन हुन सकेको छैन । अधिकांश किसानले जमिन जोत्नका लागि एक हल गोरु, दुध घिउका लागि एक दुईवटा गाई भैसी तथा सामान्य घर खर्चका लागि टाटनामा केहि भेडा वाख्राहरु पालेका हुन्छन् । मासुका लागि दुईचार वटा माउ कुखुराहरु पनि पाल्नै पर्यो ।

गाँउमा धान खेतीको लागि उपयुक्त खेतहरु प्रशस्तै छन् । मौसमले साथ दिएमा धान चामलको मामलामा गाँउ आत्मनिर्भर रहन सक्छ । विगतका कुनै समय गाँउमा धान चामल ठेकेदार मार्फत सदुमुकाम भोजपुरको सैनिक क्याम्पसम्म पुग्थ्यो, तिनताका पूर्व ३ नम्वर भनिने सोलुखुम्वु र खोटाङका विभिन्न ठाउँसम्म पुग्थ्यो । यहाँको आलु र सागपातले हालसम्म संखुवासभाका खाँदवारी तथा तुम्लिङटारमा राम्रै वजार ओगटी रहेको छ ।

साङ्गपाङ्ग गाँउमा उत्पादन भएका सुन्तला ज्यादै रसिला र मिठो हुने हुनाले यसको माग उच्च रहेको छ । धरान-धनकुटे रोड नखुलेको अवस्थामा हिले, खाँदवारी, तुम्लिङटार रोडको परिकल्पना नै नभएको समयमा समेत ढाक्रेहरुले हजारौँ ढाकर सुन्तला धरान फुस्रेको जल्दावल्दा मारवाडी व्यापारीहरुकहाँ पुर्याउँथे । सुन्तला वेचेकेा पैसाले गाँउमा लत्ता कपडा, मर मसला, सिद्रा माछा, नुन, फलाम आदि जस्ता वस्तुको आपूर्ति हुन्थ्यो । अहिलेपनि सुन्तला खेति गाँउको लागि एउटा आयश्रोत नै बनिरहेकेा छ ।

हाल अन्तराष्ट्रिय वजारमा अलैचीको माग वढ्न थालेपछि अलैचीको मूल्यमा वृद्धि भएकाले किसानलाई राहत मिलेको छ । विनाप्रयोजन खािल रहेका भिराला जग्गामा परम्परागत अलैची खेती गरीरहेका किसानहरु अव व्यवसायिक रुपमानै प्रोत्साहित हुादैछन् । खकुवा, नखुवा जस्ता खोलाका किनारा तथा अन्य स-साना खोला खोल्साहरुका दायाँवायाँमा ठूला-ठूला अलैची खेती विस्तार हुदैछ । निस्कृय रहेका वाँझा वन पाखाहरुमा धमाधम नयाँ वेर्ना सारिदैछ । यो खेतीने अहिले गाँउका प्रमुख नगदेवालीका रुपमा विकसित हुादैछ ।

"कि मर्छ छोरा रणमा कि मर्छ वनमा"धेरै पुरानो लोकोक्ति । भनिन्थ्यो- वीर नेपाली युद्धदेखि डराउँदैनन् अनि वन जंगलमा दाउरा घाँस, गोठाला, खेतला, खेती किसान गर्नपनि अल्छि मान्दैनन् । एकताका साङ्गपाङ्ग गाँउलाई लाहुरेहरुको गाँउ भनेर पनि चिनिन्थ्यो । एकदशक अगाडि सम्म पनि गाँउका अधिकांश घरका छोराहरु ब्रिटिश या ईण्डियन आर्मिमा लाहुरे थिए । हुनत प्रथम तथा दोश्रो विश्वयुद्धताका देखिनै गाँउका वावु वाजेहरु इण्डियन आर्मीका तर्फवाट युद्ध लडेका थिए वीर गोर्खालीको नाममा । त्यो क्रम छोरा नाती हुादै अहिले सम्म विडो थाम्ने काम भईरहेकै छ ।

कालान्तरमा तिनै इण्डियन तथा वि्रटिश आर्मीदेखि रिटायर्ड भएका सैनिकहरुका पेन्सन पनि गाँउका लागि एउटा ठुलै आर्थिक श्रोत बन्न पुगेथ्यो । गाँउ समाजमा ती रिटायर्ड पेन्सनवालाहरुको स्थान उच्च थियो । कसैले आफ्नो पेन्सन पट्टा कुनै साहुकहाँ धरौटी राखेर पैसा लिएको कुरा पनि सुनिन्थ्यो । देखिन्थ्यो ।

म सानो छादा मैले ती भू.पू. सैनिकहरुको हुल देखेको थिएा जो आफ्नो पेन्सन थाप्न इण्डियाको पूर्णे (पूने) शहर जान्थे । धेरै टाढाको लामो पैदल यात्रा भएकाले होला पेन्सनवालाहरु तथा तिनका आफन्तहरु कमिलाको ताँतीझै एकैसाथ परदेश लाग्दथे । "कमिले ताँती" भित्रपनि कोही सिनियर, कोही जुनियर, कोही अफिसर, कोही सोल्जर तर व्यवहारमा सारा समान । सवैले आ-आफ्ना झोलामा चामल पिठो वोकेका हुन्थे । एउटा पोकामा लट्टा परेको गुन्द्रुक र खुर्सानिको ढेडी अर्को पोकामा नुन र वेसार । झोलाभित्र भाँडाकुाडा समेत कोचेर माथि चाहि ओढ्ने ओछ्याउने लुगा खप्टाएर टन्न कसिएको । झोलाको एउटा साइडमा दापभित्र सिरुपाते खुकुरी हल्ली रहेकेा । केही वुढापाकाहरु चाहि खकन तोक्मा सहितका ढाक्रेलाई नै आफुसाग हिडाउथे ।

करीव बीस पच्चीस दिन पछाडी उनिहरु टुप्लुक्क गाँउमा आइ पुग्दथे । उनिहरुले साथमा लुगा कपडा, मरमसला, नुन, फलामका टुक्राहरु ल्याउँथे । पछि पेन्सन क्याम्प धरान फूस्रेमा आएपछि पनि उनिहरु त्यसरीनै एकैसाथ जाने आउने गर्दथे ।

धन्य हुन ती जमानाका भूतपूर्व सैनिकहरु १ कति स्वावलम्वी, कति परिश्रमि थिए उनिहरुका जिन्दगी...............। एक आपसमा कति मिठा माया प्रेम र सद्भाव अनि कति मजवुत एकता । जहाँ कुनै छलकपट थिएन नत वैरभाव नै । अतितका ती कालखण्ड तथा हामीले भोग्दै आएका वर्तमानमा आकास पातालको फरक पाईदैछ ।

यसरी गाँउको आयश्रोतमा एउटा हिस्सा ओगटी सकेको भू.पू. सैनिकहरुका पेन्सन अहिले गाँउमा ज्यादै कम मात्रामा उपलब्ध हुादैछ । पुराना भू.पू. सैनिक तथा उनका हकवालाहरुले धमाधम यो संसार छाड्दैछन् । बचे खुचेका पेन्सन पट्टावालाहरु पनि सुविधाको खोजीमा वसाई सराईको क्रममा खुसु-खुसु सहर वजार पस्दैछन् । पहाड छाडेर तराइतिर झर्दैछन् ।

वेलायत सरकारले वेलायती भू.पू. सैनिकहरुलाई आवासिय भिसा दिन थालेपछि उनिहरु पनि वेलायततिर नै पलायन हुादैछन् । नेपालमा कुनै अवसर नपाएका ती भू.पू.हरु अव वेलायतमा नै कमाउछन् त्यहि खर्च गर्छन् । पेन्सन थापेर गाउमा वस्नेवाला छैनन् ।

कुनै उद्योग कलकारखाना, कुनै ठूलो योजना परियोजना नभएको, ठूला तथा लामा राजमार्गले नछोएको साङ्गपाङ्ग गाँउका अधिकांश जनता निम्न मध्यम वर्गका छन् । कतिपय घर परिवारको आर्थिक अवस्था दयनीय नै छ । गाँउका सिमित व्यक्तिहरुमात्र व्यापार व्यवसायमा संलग्न छन् ।

गाँउमा आय आर्जनको लागि उपयुक्त क्षेत्र नभेटेका आजका युवा युवतिहरु वैदेशिक रोजगारमा जाने क्रम वढ्दो छ । उनिहरुले विदेशवाट पठाएको पैसाले सम्बन्धित परिवारलाई घर व्यवहार चलाउन सजिलो भएको छ । कोही कसै पुरानो घरको पराले छानो उधारेर जस्ताको छाना फेर्दैछन् । कसैले खेतवारी समेत जोड्दैछन् । वधाई छ ती साथीभाईहरुलाई ।

वैदेशिक रोजगारवाट भित्रिने रेमिट्यान्सले गाँउको आर्थिक अवस्थामा धेरै नै टेवा पुगेकेा छ । अवश्य पनि विदेशमा पैसाको रुख हुादैन, टिप्दै झोलामा कोच्नका लागि । दुःखसाथ कमाएको पैसाको सहि सदुपयोग हुनै पर्दछ ।

परम्परागत कृषि प्रणालीमा आधारित कृषक जमातभित्र कलेजका जीवन समेत भोगि सकेका केही उत्साही साथीहरुले गाँउमा फर्निचर व्यवसाय पनि चलाउँदै छन् । कसैले स-साना कुटनी पिसनीका मिलहरु पनि संचालमा ल्याएका छन् ।

फूर्सदका समयमा कुनै गाँउलेहरु वाँसका चित्रा, भकारी, डोका, डालाहरु वुन्दछन् कसैले पाटका नाम्ला, दाम्लाहरु वर्टाछन् । काठको हलो खोप्ने, हरिस सोभ\mयाउने, अनौ चिल्याउने काम त छादै छ खोलामा गएर एक दुई सिल माछा मार्न समेत भ्याउँछन् ।

समग्रमा साङ्गपाङ्ग गा.वि.स. को आर्थिक अवस्था कतिपय दुर्गम पहाडी, हिमाली गाँउको तुलनामा सामान्यनै छ । ठिकै छ भन्नु पर्ला । भनिन्छ, परिश्रमी हातहरुमा खुहि जम्दैन, मुंढो जोतेको अगेनामा आगो निभ्दैन ।

साङ्गपाङ्ग गा.वि.स. मा सरकारको उपस्थिति
साङ्गपाङ्गमा छ वटा सामुदायक विद्यालय सहित चारवटा सरकारी कार्यालयहरु कार्यरत छन्ः
१. ईलाका स्वास्थ्य चौकी
२. पशु उप-स्वास्थ्य चौकी
३. अतिरिक्त हुलाक
४. ईलाका प्रहरी कार्यालय

साङ्गपाङ्ग गा.वि.स मा एउटा ईलाका स्वास्थ्य चौकी छ । एउटा दुई कोठे प्रसुति गृह निर्मानाधिन अवस्थामा छ । स्वास्थ्य चौकीमा डाक्टर छैनन् । दक्ष जनशक्तिको कमि छ । चौकीको भौतिक पूर्वाधार समेत सन्तोषजनक छैन । जहाँ पर्याप्त मात्रामा औषधि पनि छैन । त्यसैले सो चौकीमा सामान्य उपाचारमात्र हुने गर्दछ ।

सुत्केरी व्याथाले च्यापेका गर्भवती महिलाहरु तथा अन्य गम्भिर प्रकृतिका विरामीहरुलाई उपचारको लागि संखुवासभाको तुम्लिङटार या खाँदवारीका अस्पताल सम्म पुर्याउनु पर्ने वाध्यता छ । सिमित शैयाको मात्र भएपनि डाक्टर सहितको एउटा अस्पतालकेा निर्माण होस् ।

गाँउका अधिकांश किसानहरु पशुचौकी प्रति अनभिज्ञ छन् । गाँउमा रहेकेा पशु उप स्वास्थ्य चौकीले पनि आफ्नो उपस्थिती प्रति दह्रो खुट्टा टेक्न सकेकेा छैन । उक्त चौकी किसानको गोठ, कटेरा तथा छाप्रा सम्म पुग्न सकेको देखिदैन । शायद ऊसाग उपयुक्त प्राविधिक तथा उपकरणको कमि होला । आवश्यक पर्ने औषधि र खोपको व्यवस्था नहोला ।

किसानहरु नाम्ले परेको भेडा वाख्रालाई खरानी पानी पिलाउँछन् । लमुते लागेर थला परेकेा गोरुको मुखमा चमेरा मारेर कोच्याउँछन् । विरामी भएर दुध दिन छाडेको दुहुना भैसीलाई जंगली लसुन कुटेर खुवाउँछन्, सिद्र माछा पोलेर सुघाँउछन् ।

गाँउको त्यस्तो वातावरणलाई नियाल्दा गाँउका किसान र पशुचौकी बीच एक अर्कामा समन्वयको खाँचो देखिन्छ । पशु उप स्वास्थ्य चौकीको सहयोगमा गाँउमा उन्नत जातका पशुहरु भित्र्याएमा व्यवसायिक पशुपालनको उज्जल भविश्य पनि देखिन्छ ।

गाँउमा हुलाक विभाग अन्तर्गत एउटा अतिरिक्त हुलाक छ । आधुनिक संचार प्रविधिको विकासक्रम सागै हुलाक पद्धति दिनहु ओझेलमा पर्दै गएको छ । टेलिफोनको विस्तारसागै फ्याक्स, मोवाइल फोन, ईन्टरनेट जस्ता आधुनिक आविस्कारले देश-विदेश, शहर-वजार, गाँउ-घर लाई एउटै खाल्टोमा सिन्की गुन्द्रुक खाँदेझै खाँदी दियो । सानो काँचको पर्दाभित्र संसार अटाउन थाल्यो । कोड नम्वर पछिको एउटा "हेलो" ले सारा पृथ्वीको कूना काप्चा सम्पर्कमा आउँन थाल्यो । त्यसैले होला संसारलाई अव "एउटा विश्व गाँउ" भन्न थालियो ।

"हुलाकी दाई मेरो चिठी आएन ?" सोधिखोजी गर्ने मान्छेहरु कम हुादै गए । चिठीमा टिकट टाँसेर पत्र मन्जुषामा खसाउनेहरु पनि पातलिादै गए । जे होस्, गाँउमा एउटा हुलाक कार्यालय हुनु पनि राम्रै हो ।

फलानाको विवाहको जग्गेको रात फलानाले फलानालाई काटेछ नि वावै १ मान्छेहरु पुलिस वोलाउन दिङला गा छन् ।

फलानाको घरमा चिन्ता (झाँक्री) वसेकेा वेला फलानाले फलानालाई भकुर्नु सम्म भकुरेछ नि १
- त्यो गाँउको लिङगे पिङ अर्का -फलाना) गाँउका केटाहरुले काटी दिएछन् ।
- वुधवारेको छोटी वजार सिमल डाँडामा फलानाले आफ्नै भान्जाको हात भांचिने गरि पिट्यो रे ।

हामी साना वालक छदा गाँउमा यस्ता घटनाहरु वारम्वार भई रहन्थ्यो । गाँउघरमा कोहि कसैको विवाह भोज भतेरमा, धामी झाँक्री चिन्तावसेको स्थानमा प्रशस्तै झै झगडा हुन्थ्यो । दशैमा मनोरन्जनका लागि थापिएका पिङ एक अर्काले काटेर नष्ट गर्ने, हुल हुज्जत गर्ने चलन पनि थियो । झ्याउपोखरीको वुधवारे वजारदेखि फर्किएका मान्छेहरु ठाउँ-ठाउँका छोटी वजारमा (टुक्रे वजार) जाँड रक्सी पिएर लडाइा गर्दथे । दिङलाको रामनवमी या शतविज मेला भरेर फर्किएका मान्छेहरु चिम्काने डाँडाको छोटी वजारमा भैसीले कुडो पिएझै मादक पदार्थ पिएर ग्याङ फाईट खेल्थे ।

एकप्रकारले भन्ने हो भने त्यसवेलाको कुनै विवाह समारोह, चिन्ता, हाट वजार गाँउलेका लागि अफापसिद्ध ठहर्दथ्यो । कति पटक यो पंतिकार पनि त्यस्ता हुल हुज्जतभित्र फसेकेा थियो । त्यसवेला वाल मष्तिष्कमा परेका आघात अहिलेपनि ताजा नै छ ।

ढिलै भएपनि गाँउमा ईलाका प्रहरी कार्यालय स्थापना भयो । प्रहरी संयन्त्रले आफ्नो भूमिका निभाउदै रहृ्यो । परिवर्तित समय चक्रसागै गाँउलेको चेतनामा क्रमश वृद्धि हुादै गयो । मानिसहरु शिक्षित हुादै जानका अलावा मादक पदार्थको वेच विखन र सेवनमा नियन्त्रण हुादै गयो फलतः गाँउमा हुने झैझगडा, कुटपित तथा मारकाटमा कमि हुादै गयो । पुरानो चौकि भवन ध्वस्त भएपछि अहिले नयाँ भवन निर्माण हुादैछ । आशा छ, प्रहरी चौकीले सत्यको जित गराउँदै जनताको सेवा गर्नेछ । गाँउमा शान्ति र सुरक्षा प्रदान गर्नेछ । उसको मूल मन्त्र साकार होस् - "सत्य सेवम् सुरक्षणम्" ।

प्राकृतिक सम्पदाहरुः
साङ्गपाङ्ग गा.वि.स. मा अनेकौ प्राकृतिक सम्पदाहरु छन् । जहाँ हिमाली भूमि छ । लेकाली वस्ती छ, बेसीका फाँटहरु पनि छन् । गाँउमा विविध खोला नाला छन् । जंगल, भीर पहरा, गुफाहरु छन् । आध्यात्मिक चिन्तनसागै अस्तित्वमा रहेका विभिन्न देवीस्थान, सिमेस्थान, भूमेस्थान तथा साकेवास्थानहरु छन् । ठाउँ - ठाउँमा देउराली भन्ज्याङहरु छन् । वर पिपल र चौतारीहरु छन् ।

सत्तल डाँडादेखि देखिने मकालु हिमालको मनोरम दृष्यले जोसुकैको मन जित्न सक्छ । अझ हिउँदको सफा गगनमा फाल्दोबाटो तथा तिनतले डाँडावाट आखै अगाडी प्रष्ट देखिने मकालु तथा कञ्चनजंघा हिम श्रृंङखलाले पर्यटकको हृदय पगाल्न सक्छ । यी गाँउहरुमा आधुनिक "भिउ टावर" राख्न सकिएमा पर्यटन व्यवसायको विकास हुने थियो ।

मझुवाको कहाली लाग्दो पातले छाँगा जति सुन्दर छ त्यतिनै त्यहाँ देखिने सप्तरंगिन इन्द्रेणि अति मनमोहक छ । त्यो छाँगाको वास्तविक उचाई के कति छ ? त्यसको गति कति सम्म छ ? यसको वास्तविक मापन गरेर प्रकाशमा ल्याउनु जरुरी छ ताकी यो छाँगो नेपालको कुन श्रेणिमा पर्दछ भन्ने कुरा थाहा पाईयोस् ।

वार्ड नं. ४ विहिला स्थित 'बाघ घोचे ' गुफाको लम्बाई कति छ ? त्यसभित्र के-कस्ता संरचनाहरु छन् ? यस बारेमा कुनै लेखाजोखा छैन । एकान्त स्थानमा रहेको उक्त डरलाग्दो गुफा भित्र प्रवेश गर्नका लागि सायद ठुलै मुटुको आवश्यकता पर्दो हो । बुढापाकाहरुका भनाई अनुसार त्यस गुफा भित्र बाघको बासस्थान थियो रे । बाघले दिन दहाडै गाँउका गाई भैसी मार्ने, भेडा बाख्रा खाने तथा समय-समयमा मानिसहरुलाई समेत आक्रमण गर्न थाल्यो रे ।

त्यसबेला गुफा आसपासका जंगल खेत पाखाहरु उईपा राई -वाक्छाली) हरुका स्वामित्वमा थियो । बाघले अति नै दुःख दिन थालेपछि तिनै उईपा राईहरुले बाघ मार्ने योजना बनाए । बाघ गुफामा सुति रहेको बेलामा दुई घना बाँस जोडेर टुप्पोमा तिखो भाला राखी बाघलाई घोचियो । त्यसबेलाका सोझा सिधा मान्छेहरु न हुन्, बाघलाई बाँसले घोचेर कसरी मार्न सकिन्थ्यो ? बिजुली चम्के झै बुर्कुसी मारेको बाघ खोला पारी घाँस काट्दै गरेकी एकजना आइमाइलाई मारेर बेपत्ता भयो रे । त्यही घटनापछि त्यही गुफालाई बाघ घोचे भिर भन्न थालियो रे ।

सत्तल डाँडाको पूर्वि पाटो वडा नं. २ स्थित 'डोङडोङे् भीर' मा पनि त्यस्तै अर्को ठुलो गुफा छ । धेरै पूरानो किम्बदन्ती अनुसार - त्यो जमानामा त्यस भेकका बालबच्चाहरु हराउने क्रम बढेछ । दिनहु एक दुई जना बच्चाहरु वेपत्ता हुन थाले । धेरै चियो चर्चा पछाडी थाहा भयो की, त्यो डोङडोङ भीरको गुफाभित्र लेमलेमा -बनमान्छे) बस्दा रहेछन् । तिनै लेमलेमाहरुले गाँउका साना वाल बच्चाहरुलाई सुटुक्क चोरेर गुफा भित्र लगी खाने गर्दा रहेछन् । गाँउलेहरुको सल्लाह बमोजिम सारा गाँउ देखि खुर्सानी जम्मा गरेर गुफाको मूलद्धारमा जलाइयो । खुर्सानीको धुवााले पिरोलिएका लेमलेमाहरु त्यहाँबाट भाग्न बाध्य भए रे ।

यस्तै वडा नं. ७ गुराँसेको महादेव गुफा, वडा नं. ६ मा रहेको छुपु ओडारमा रहेको पानीको मुहान पनि हेर्नलायक प्राकृतिक सम्पदा हुन् ।

गाँउको शिर भागमा पखुवा भन्ने ठाउँ छ -राई भाषमा पखु . ...... वा. पानी) जङ्गल बीचको चट्टानलाई फोरेर वढो आश्चर्य ढंगले त्यहाँ एउटा पानीको फोहोरा छुटेको छ । ढुङ्गाको च्याप देखि निस्केको त्यति ठुलो पानीको मुस्लो कहाँ देखि पलायो अनि कता विलायो ? कसैले भन्छन् जमिन भित्र भित्रै बगेको पानीको ढल एकैचोटी चिर्खुवा खोलामा पुग्छ रे । यो भनाईमा प्रमाणिक सत्यता चाही छैन ।

वैशाखा र भदौरे पूणिर्माको दिन त्यहाँ ठुलो मेला लाग्छ । उक्त दिन पवित्र पानीको मुहानमा नुहाउन भक्तजनहरुको ठुलो भिड लाग्छ । धामी झाँक्रीहरु धेरै टाढा टाढा देखि पनि ढोल झ्याम्टा र ढ्याङ्ग्रोको ढ्याङ ढ्याङ ...........तथा धामी झाँक्रीहरुका सहयोगीहरुका सुसेलीले सम्पुर्ण जंगल भिर पहाड नै थर्काउँछन् ।

आकस्मिक रुपमा पलाएको त्यति ठुलो जल प्रवाहको उत्पत्ती बारेमा खोजीनिती र अनुसन्धान हुनु पर्दछ । त्यती ठुलो तथा शक्तिशाली पानीको श्रोतलाई कुनै क्षेत्रमा सदुपयोग गर्न सकिन्छ की ? वर्षेनी लाग्ने अव्यवस्थित मेलालाई व्यवस्थित गर्नु पर्ने हो की ?

नेपाल र तिव्वत बीचको प्राचिन युद्धताका तिव्वतदेखि लुटेर ल्याइएका भेडा च्याङग्राहरु बाँधिएको ऐतिहासिक ढुङ्गा भनेर भनिएको चिउरीबोटेको खेतमा गाडिएको ढुङ्गा हेर्न लायक छ । खेतको बीचमा गाडिएको उक्त ठुलो अग्लो ढुङ्गा कसले किन गाडेको हो ? आजसम्म स्पष्ट र प्रमाणित उत्तर आउन सकेको छैन । उक्त रहस्यमय ढुङ्गालाई आजका पिढींले अनुसन्धान गर्न बाँकी नै छ ।

फाल्दोवाटो माथि गुरास घारी भित्र रहेको 'रानीफाल' भनिने अर्को ढुङ्गा कथामा मात्र सिमित छ । ढुंगा गिलो भएको प्राचिनकालमा रानीले हामफाल्दा खुट्टाको छाप बसेको भन्ने कथालाई पत्याउने या नकार्ने ? ढुंगामा मान्छेको खुट्टाको छाप स्पष्ट छ । त्यो छाप कसैले फलामको छिनो वा घनले खोपेका हुन वा पृथ्वीको उत्पत्ति पश्चात कुनै जीवको 'फोसिल' देखा परेको हो ? यस बारेमा कसैले चासो दिएको पाइन्न ।

गाँउको वडा नं. ४ आहाले नजिकैको जलपा देवीस्थान वडा नं. १ सार्की गाँउ स्थित सिंहदेवी स्थान तथा वडा नं. ८ छाप्ले गाँउ स्थित कालिका देवीस्थानलाई राम्ररी सरसफाई गरी तार वार पर्खालले घेरेर संरक्षण गर्नु जरुरी छ । गाँउका विभिन्न ठाउँमा रहेका साकेवा स्थललाई अझ फराकिलो तथा व्यवस्थित गर्नु पर्ने देखिन्छ ।

सम्भावनाका क्षेत्रहरुः
प्रकृतिले साङ्गपाङ्ग गा.वि.स.को दायँ बायँ नकुवा र खकुवा जस्ता ठुला खोलाहरु दिएका छन् । विना प्रयोजन नै अटुट रुपमा वगीरहने खोलाका पानी त्यत्तिकै खेर गइरहेको छ । उक्त खोला देखि गाँउलेकै अग्रसरतामा स्थानीय सहकारी मार्फत विद्युत उत्पादन गर्न सकेको खण्डमा सम्पुर्ण गाँउघर झलमल्ल हुने थियो । त्यहाँ उत्पादित विद्युतले गाँउमा स-साना घरेलु उद्योगहरु चलाउन सकिन्थ्यो ।

गाँउमा विद्यमान रहेका परम्परागत कृषि प्रणलीमा सुधार गरी उन्नत जातका विउ विजन, मल, प्रयोग भएमा समग्र अन्न उत्पादनमा वृद्धि हुने थियो । गाँउका आहाले, पात्ले गाँउ, तिनतले जस्ता लेकाली ठाउँमा चिया, स्याउ खेतीको प्रवल सम्भावना रहेको हुनाले त्यसप्रति जोड दिनु आवश्यक छ ।

सुन्तला, अलैंची जस्ता नगदे फसल खेतीलाई बढी भन्दा बढी व्यवसायिक रुप दिनु पर्दछ । अलैंची सुकाउने आधुनिक यन्त्रलाई गाँउ भित्राएमा श्रम र समयको बचत हुने तथा दाउराको लागि रुख कटानी समेत कम हुने थियो । त्यस्तै घरघरमा सुधारिएको चुलो निर्माण भएपनि बन फडानीमा कमी आउनुका साथै घर गृहणीको स्वास्थ्यमा समेत सुधार हुने थियो ।

आफ्नै गाँउ घरमा स्वरोजगारका लागि गाँउमा पर्यटन विकास गर्नु जरुरी छ । ग्रामिण पर्यर्टन प्रवर्दनका लागि आन्तरिक या वाह्य पर्यटकलाई आकषिर्त गर्नु पर्ने महत्वपुर्ण कदम हो । यसका लागि गाँउमा रहेका प्राकृतिक सम्पदाहरुको चिनारी, मौलिक परम्परा रहनसहन, भेषभुषा, आदिको स्पष्ट पहिचान हुनु पर्दछ ।

पोखराको महेन्द्र गुफा तथा खोटाङ्गको हलेसी महादेवस्थानको वर्णन गरेर नथाक्ने हामी गाँउका बुज्रुकहरु आफ्नै गाँउको बाघघोचे गुफा, डोङडोङे गुफाबारेमा अनविज्ञ छौ । आहाले डाँडाको बहक्चा ढुंगा, चिउरीबोटेको च्याप्टो अग्लो ढुंगाबारेमा बेखवर छौ । मझुवाको पात्ले छाँगो तथा पखुवाको रहस्यपूर्ण पानीको मुहान बारेमा पनि चासो राख्दैनौ । आखिर नजिकको तिर्थ हेला भएकै हो त ?

माथिका विभिन्न स्तम्भमा नै ब्याख्या गरिएका गुफाहरुको बारेमा यथेष्ट जानकारी हासिल गरी गुफाभित्र मानिस आवतजावत गर्न मिल्ने गरी भौतिक सुविधाको निर्माण हुनु पर्दछ । गुफा भित्र या वाहिर राम्ररी सरसफाई गरेर उज्यालो बत्तीको व्यवस्था गरिनु पर्दछ । तिनिहरुका बारेमा चारै तर्फ प्रचारप्रसार हुनु आवश्यक छ ।

साङ्गपाङ्ग गाँउ तथा साङ्गपाङ्गबासीहरुसंग प्रत्यक्ष संलग्न भएको बहप्चा ढुंगाको उचित स्याहार संभार गरी सुन्दर पार्क निर्माण गर्न सकिन्छ । त्यस क्षेत्रलाई एउटा पिकनिक स्थलको रुपमा विकास गर्न सकिने सम्भावना पनि रहेको छ ।

गाँउमा रहेका विभिन्न देवालय, देवीस्थान, साकेवा स्थानको संरक्षण र संवर्द्धन गरी धार्मिक पर्यटन स्थलको रुपमा चिनाउन सकिन्छ ।

गाँउमा मोटरबाटो पुगेको छ । बिजुली बत्ती पुगेकै छ । स्वदेश तथा विदेशका पर्यटकहरुका लागि छाप्ले गाँउ, सत्तल डाँडा, मझुवा, आहाले, पात्ले गाँउ तथा तिनतले जस्ता ठाउँमा अहिले चर्चामा आएको 'होम स्टे' को व्यवस्था गर्न सकिन्छ । जहाँ पर्यटकलाई गाँउमै उत्पादित दुध, दही दिएर स्वागत गर्न सकिन्छ । खानाको लागि स्थानीय चामलको भात, सिस्नोको दाल, गहतको झोल तरकारीको लागि आलु, रायोको साग, सिम साग, निङ्गुर, जलुका, जंगलको तमर्केको मुन्टा आदि छदैछन । गुन्द्रुक, सिन्की, किनेमा, बोके टिमुर, अथवा फिलुङ्गेको धुलो अचार समेत पाहुनालाई चखाउन सकिन्छ ।

पिउन चाहनेहरुका लागि गाँउकै कोदोको तीनपाने लोकल कठुवामा भरी दिए हुन्छ । तल-माथी फलामे पाताले मोरेको कटहरको काठको ढुङ्ग्रामा कोदाकै तोङ्वा हाली दिए पुग्छ ।

पर्यटकहरुलाई ताजा सफा आर्गानिक खाद्यपदार्थहरु दिनु पर्छ । सुत्नका लागि सफा नरम आरामदायी वेडको व्यवस्था गर्नु पर्छ । उनिहरुका लागि गाँउका पुराना नृत्य मारुनी नाच, गर्रा नाच, धैलुङ् नाच प्रदर्शन गर्न सकिन्छ ।

यस्ता अल्पकालिन तथा दिर्घकालिन योजना अन्तर्गत अहिलेको लोकप्रिय खेल प्याराग्लाइडिङ् तीनतले डाँडा देखि उडाएर सत्तल डाँडामा उतार्न सकिन्छ ।

साङ्गपाङ्ग गाँउको मुटु झै मानिने सत्तल डाँडामा टुप्लुक्क बसेको बस्तीले सानो तर चिटिक्क परेको बजारको रुप लिदैछ । यो ठाउँ गाँउको प्रमूख व्यापारिक केन्द्र पनि बन्दैछ ।

यो वजार बसाउनका लागि पुर्व प्रधानपञ्च कुल बहादुर राईको ठुलो योगदान छ भन्नुमा कुनै अत्युक्ती नहोला । उनैले सर्वप्रथम उक्त डाँडामा बाँसको चिमले बारेर हिलोमाटोले लिपेर बनाइएको सानो छाप्रोमा सानो पसलको सुरुवात गरेका थिए । मलाई याद छ, सर्वप्रथम खुलेको उहाँको पसलमा उहाँले निक्कै दुख गर्नु भयो । त्यतिबेला पाँच पैसामा १५र२० दाना रातो गुलियो मिठाई पाइन्थ्यो । छ पैसामा सलाई पाइन्थ्यो । चकलेट, विस्कुट तथा चाउचाउको जमाना थिएन ।

दिपा .......... दिपा.......... के गर्दै हुनहुन्छ ? जिव्रोमा र्याल चुहाउदै हामी उहाँको पसलमा पटक पटक चिहाई रहन्थ्यौं । 'घर जा तेरो बुबालाई यहाँ तुरुन्त पठाइ दे' उहाँ हामीलाई गाली गर्दै लगार्नु हुन्थ्यो । साइनोमा दाजुभाई (फुपुको छोरा तथा मामाको) कुल ब. दिपा र हामैा बुबा दलजित असाध्यै मिल्ने 'पकेट यार' थिए । दिल खुस भएको बेला बुढाले हामीलाई एक दाना मिठाई दिएर पल्काएका थिए । त्यसैले हामी उहाँको पसलमा चियाउन जान्थ्यौ । खै १ एउटा घाम पछाडि अर्को जुन भए झैं ती पात्रहरु अहिले यो धर्ती देखि बिदा भइ सके ।

समयक्रमसंगै अहिले गाँउको केन्द्रविन्दु बनेको सत्तल डाँडाको इतिहासलाई कोट्याउँदा त्यो डाँडा मा धेरै पहिले कुनै सत्तल (पाटी, पौवा) थियो भन्ने बुझिन्छ । संरक्षणको अभावमा उक्त भत्किएर नासिएर प्रकृतिको गर्भमा नै बिलायो । सत्तलको आसपास खुल्ला पशुचरण थियो होला । गाई भैसीले पानी पिउनको लागि त्यहाँ एउटा पोखरी पनि खनियो होला । सायद पाटी पौवा (सत्तल) मा बास बस्ने परदेशीहरुलाई पानीको व्यवस्था होस् भनेर पनि पोखरी निर्माण गरिएको हुनु पर्छ । काठमाण्डौं उपत्यकामा रहेका विभिन्न पाटी पौवाहरुको अध्ययन गर्दा त्यसको नजिकै साना ठूला पोखरीहरु आजसम्म रहेको पाइन्छ । त्यसैले पाटी पौवा र पानीका पोखरी एक अर्कामा सम्बन्धीत रहेको निक्र्योलमा पुग्न सकिन्छ ।

सत्तल डाँडामा ठूलो पिपलको रुख नजिकै केही वर्ष अगाडि पनि एउटा सुन्दर पोखरी थियो । चारै तर्फ ढुंगाको पर्खालद्धारा निर्माण गरिएको पोखरी सफा र गहिरो पनि थियो । म लगाएत मेरा दौतरी उमेरकाहरुलाई समेत थाहा छ । त्यसबेलाका गाँउका पौडीवाजहरु उक्त पोखरीमा आएर मस्त साथ पौडी खेल्दथे । किनारामा बसेर हात धुदाधुंदै म एक पटक त्यो पोखरीमा डुबेको पनि थिएा तर स्कुल पढ्ने सिनिएर दाइहरुले मलाई तुरुन्तै बाहिर निकालेका थिए ।

फेवा तालमा माछापुछ्रे हिमालको छाँया देखिए झै सत्तलको उक्त तालमा नजिकैको पिपलको तथा तत्कालिन पञ्चायत घरको छायाँ प्रष्ट देखिन्थ्यो । विहानीको घामको कलिलो खुट्टा अनि साँझको पहेलो सुर्यास्त पोखरीको पानीमा लुकामारी खेलिरहन्थ्यो ।

चैत्रको हुरी र धुलोले छोपीइ रहने, साउन र भदौको झरीले निथ्रुक्क भिजी रहने, कात्तिके सित र मंसिर पुसको तुषारोले कठ्याङ्ग्री रहने त्यसबेलाको सत्तल डाँडामा मानव बस्तीको विस्तार संगै उक्त सार्वजनिक पोखरी अतिक्रमणको शिकार भयो । अहिले त्यो पोखरीको नाम निशाना केही रहेन । बाँकी रहृयो केवल इतिहास भित्रका सम्झना मात्र । माल पाएर चाल नपाएपछि कस्को के लाग्दो रहेछ र ? गाँउको एउटा गहना, गाँउको एउटा वैभव गाँउलेकै हेलचेक्र्याइले समाप्त भयो ।

जे हुनु भै गयो । ठिकै छ । धोरलिया परेको दाम्लोलाई हतासो देखिनै झिकेर फेरी सिधा गरेर बाट्न सकिन्छ । आजको सचेत समाज, गा.वि.स., स्थानीय क्लव तथा संघ संस्थाहरु मिलेर उक्त पोखरीको पुनः उत्खनन् गरि पुर्खाले छाडेर गएको नासोलाई जीवन्त दिनु आजको आवश्यकता हो ।

पोखरी साविककै ठाउँमा पुनः निर्माण होस् । जसलाई फलामे वारले घेरियोस् । जसका वरिपरी थरी थरीका सुन्दर फूलहरु ढकमक्क फूलिरहोस् । जहाँ मौरी र भमराले गीत गाउन्, रङ्गी विरङ्गी पुतलीहरु छमछम नाचुन् । स्वच्छ पानीको पाखरीमा विभिन्न जातका माछाहरु पौडी खेलुन् ।

पोखरीको डिलमा स-साना कोटाकेटीहरु खेल्नेछन् । निर्मल पानीको लहरमा आफ्नो उज्वल भविष्य कोर्ने छन् । युवायुवतीहरु आउने छन् । सुन्दर जीवन तथा सुन्दर समाजको परिकल्पना गर्ने छन् । त्यहाँ त गाँउका बुढाबुढीहरु पनि लठी टेकेर खुट्टा घिसार्दै आङ् तन्काउँदै आउने छन् । पोखरीको डिलमा रहेका फलैचामा बस्ने छन् । घरायसी झमेला देखि मुक्त हुने छन् । पानीको छाल पोखरीको कुइनेटोमा ठोक्किएर अर्को दिशातर्फ मोडिदा बुढा बुढीहरु आफ्नो जीवनको विगतलाई फर्किएर हेर्ने छन् । '' जीवनमा धेरै संघर्ष गरेको छु, अझै गर्न सक्छु, शरीरमा अझै रगत बाँकी छ नि हो गाँठे ।'' माछाहरु पानीमा हरीगुड्डी खेल्दै पानीको सतह भन्दा माथी उफि्रएको देखेर बुढा बुढीहरुको नशा-नशामा उर्जा थपिन थाल्दछ -'' म पनि यसरी नै उफि्रन सक्छु, पौडन पनि सक्छु, अहिलेनै थला पर्या हैन क्यारे ।''

पोखरीको रमाइलो वातावरणले उमेर ढल्कदै गएका वृद्ध भावनामा नयाँ जोश पलाउने छ । अझ धेरै गर्ने, धेरै वाँच्ने प्रेरणा मिल्नेछ । उनिहरुले रातको समयमा आफू आकासमा चरा झै उडको देख्नेछन् । आफू सोह्र वर्षे पट्ठो भएर नाँचेको, हाँसेको पाउने छन् । "अहा कति मिठो सपना....।" विहान सखारै उठेपछि नातिलाई ठूलो चाहि कुखुराको भाले काट्ने आदेश दिएर आफूचाहिा कोठेवारीमा पसेर सागपात गोडन थाल्नेछन् ।

यिनै सम्भाव्यताहरुलाई मध्य नजर गरी हामी सारा गाँउलेहरु मिलेर प्राचिन धरोहरलाई वचाउँ । उक्त पुरानो पोखरीको पुननिर्माणमा जुटौ । जहाँ इच्छा त्यहाँ उपाय । इच्छा जगाऔ उपाय खोजौ । वरु ढिला नगरौ ।

यो एउटा सामान्य योजना कार्यान्वयन गर्दा कुनै गाँउले दाजुभाइलाई कुनै प्रकारको मर्का पर्ने भए सहृदयी वनेर खुला वहसमा जुटौ । हामीसाग त्यो जमानाको नापी नक्सा छैन, साँध सिमाना पनि एकिन छैन तसर्थ पोखरीको तत्कालिन पर्खाल पत्तो लगाएर जगतर्फ गहिरो गर्ने मात्र हो । निर्माण कार्य गर्दा कोही कसैको भौतिक संरचनामा क्षति पुग्ने देखिए कुनै दिशातिर खुम्च्याएर कुनै दिशातिर तन्काएर कतै वङग्याएर कर्तै सोझ्याएर कार्य सम्पादन गर्न सकिन्छ ।

यो सार्वजनिक योजनाले कोही कसैप्रति नकारात्मक सोच नराखोस् । कोही कसैप्रति लक्षित नवनोस् । सम्पूर्ण साङ्गपाङ्गवासीहरुको सर सल्लाह अनुसारकै कार्यक्रम अगाडि वढाऔ । जे जसरी भएपनि योजना सफल पारौ ।

हजुर १ गाँउ त हाम्रै हो । ताप्लेजुङ या डढेलधुराका मान्छे आएर हाम्रो गाँउको विकास गरिदिनेवाला त छैनन नि ।

अन्तमाः
वाघघोचे भिरमा नाँकेवुङ फूल्यो
जुरेली रमायो
डोङडोङे भिरमा सुनाखरी झुल्यो
साङ्गपाङ्ग गाँउ हसायो ।

धन्यवाद ।
२०६८-११-१५